सावित्रा र अनिता चम्किँदा नेपालको विजयी शुरुवात

0

काठमाडौं : नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले सुखद शुरुवात गरेको हो । नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरिन् । पहिलो हाफ भारी वर्षाले प्रभावित गरेको थियो ।

खेलको तेस्रो मिनेटमा फ्रिकिकमा भुटानी खेलाडीको हेडर पोस्ट नजिकैबाट बाहिरिँदा भुटान अग्रता लिनबाट चुकेको थियो । नवौं मिनेटमा सावित्रा भण्डारीको डि बक्स बाहिरको प्रहारले पोस्टको गति लिन सकेन । ११औं मिनेटमा हिरा कुमारी भुजेलको बक्स बाहिरको सशक्त प्रहार पोलमा लागेर फर्कदा नेपाल अग्रता लिनबाट चुक्यो ।

१२ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । गोलरक्षक सविता मोनगेर अघि बढ्दै बललाई क्लियर गर्न खोजेको अवस्थामा अमिशासँग जुध्दै आएको बललाई सावित्राले खाली पोस्टमा गोल गर्न सफल भइन् ।

खेलको ६७ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन् । दोस्रो हाफको शुरुमै अमिशा कार्कीको स्थानमा मैदान छिरेकी रेखा कुमारी पौडेलको चलाखीपूर्ण पासलाई सावित्राले वान भर्सेस वानको स्थितिमा गोल गर्न सफल भइन् ।

यससँगै सावित्रा भुटानविरुद्धको चौथो खेलमा लगातार गोल गर्न सफल भइन् । उनले यसअघि तेस्रो, चौथो र पाँचौ साफमा गोल गर्न सफल भएकी थिइन् । साफमा भुटानविरुद्ध उनको यो १०औं तथा सम्रगमा राष्ट्रिय टोलीबाट ४०औं गोल हो ।

यस्तै खेलको ७२ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाइन् । खेलको ८४ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० गोलको जित दिलाइन् । भुटानविरुद्धको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरे । दिपा शाही, अमिषा कार्की र समिक्षा घिमिरेले राष्ट्रिय टोलीमा डेब्यु गरे । 

यस जितसँगै समूह ‘बी’ को नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । भुटानले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

बुधबार प्रतियोगिताको समूह बी का दुई खेल हुनेछ । पहिलो खेलमा भारत र पाकिस्तान दिउँसो १ बजे खेल्नेछन् । दोस्रो खेलमा साँझ साढे ५ बजे बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.