सुरक्षागार्ड पक्राउ घटना : सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन मन्त्री श्रेष्ठको आग्रह

0

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छायाँ सेन्टरमा भएको घटनाको सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका छन् । 

उनले सामाजिक संजालमार्फत सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्र भएको गुनासो गरेका हुन् । 

घटना लाइनमा नबसेर भएको नभई मन्त्री श्रेष्ठ र सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको प्रष्टीकरण उनको छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘छायाँ सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिक्रियामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पब्लिकको प्रतिक्रिया स्वाभाविक छ, तर त्यो घटना लाइनमा नबसेर भएको नभइ म र मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो । घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिक्रिया दिन र सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षड्यन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु ।’

मन्त्री श्रेष्ठलाई ‘लाइनमा बस्नु’ भन्दै आग्रह गर्ने छायाँ सेन्टरका सुरक्षागार्ड शेरजंग गुरूङलाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको छ । मन्त्री श्रेष्ठमाथि गत शुक्रबार दुर्व्यवहार गरेको आरोपमा गुरूङलाई प्रहरीले पक्राउ गरेको थियो । 

उनीमाथि जाहेरी परेपछि प्रहरीले पक्राउ गरी पाँच दिन म्याद लिई थुनामा राखेर अनुसन्धान अघि बढाएको हो ।

Leave A Reply

Your email address will not be published.