नागरिकता विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदै

0

काठमाडौं : नागरिकता विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदै छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयकमाथि छलफल गर्नका लागि विधायन समितिको बैठक बोलाइएको हो । 

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई छलफलका लागि बोलाइएको छ । 

नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भइसकेको छ । 

आइतबार बसेको राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा पठाएको थियो । 

समितिले अब राष्ट्रपतिको सन्देशसहित विधेयकका विषयमा थप छलफल गर्नेछ । पुनर्विचार गर्न आवश्यक विषयमाथि छलफल गरेर आवश्यक ठानेमा पुनर्विचार गर्नुपर्ने व्यवस्था उल्लेख गरेर प्रतिवेदन तयार गरी राष्ट्रिय सभामा पेश गर्नेछ । 

राष्ट्रिय सभाले त्यो प्रतिवेदनमाथि छलफल गरेर स्वीकार वा अस्वीकार गर्नेछ । त्यसपछि विधेयक निर्णयार्थ प्रस्तुत गरिनेछ । 

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक संशोधनसहित वा जस्ताको तस्तै राष्ट्रिय सभाबाट पारित भएपछि त्यसको सन्देश प्रतिनिधिसभामा पेस गरिनेछ । 

प्रतिनिधिसभाले त्यो सन्देश स्वीकार गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक पठाइनेछ । 

संघीय संसद्बाट पारित भएर आएको नागरिकता विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.