एकल महिला समूहद्वारा अग्रज महिलाहरुलाई सम्मान

0

काठमाडौं : मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लुएचआर)ले अग्रज महिलाहरुलाई सम्मान एवं अभिनन्दन गरेको छ । बुधबार काठमाडौं हात्तीगौंडास्थित छहारी भवनमा आयोजित एक कार्यक्रमकाबीच डब्लुएचआरले राष्ट्र र समाजलाई सेवा पुर्‍याउँदै आएका अग्रज महिलाहरुलाई सम्मान गरेको हो । 

सम्मानित हुनेहरुमा अष्टलक्ष्मी शाक्य, भद्रकुमारी घले, तुला राणा, डा. मिना आचार्य, प्रा.लक्ष्मी केशरी मानन्धर, शान्ता मानवी, सावित्री अर्याल, सावित्री थापा, श्रद्धा पोखरेल, अम्बिका श्रेष्ठ, दुर्गा घिमिरे र चाँदनी जोशी रहेका छन् । 

कार्यक्रममा प्रमुख अतिथि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आज अग्रज महिलालाई सम्मान गरे भोलि हामीलाई पनि सम्मान गरिने बताइन् । 

उनले पुरुषको इतिहास लेखिए पनि महिलाहरुको भने इतिहास नलेखिएको गुनासो गरिन् । उनले भनिन्, ‘पुरुषको इतिहास गाथा लेखियो तर महिलाको गाथा कहिल्यै लेखिएन ।’

नेपाली महिलाले हिजोदेखि आजसम्म राज्य सञ्चालनमा, युद्धको क्रममा वा सामाजिक परिवर्तन तथा शिक्षाको क्षेत्रलगायत विभिन्न क्षेत्रमा पुर्‍याएको योगदान नेपाली इतिहासमा कहिले पनि नलेखिएको उनको भनाइ थियो । जस कारण नेपाली समाजमा महिलालाई सधैं ओझेलमा पारिएको उनले बताइन् ।     

मन्त्री श्रेष्ठले अझै पनि समाजमा महिलाले गर्ने कामलाई स्वीकार नगरिएको भन्दै महिलाहरु आर्थिकरुपमा सक्षम हुनुपर्नेमा जोड दिइन् । 

No description available.

कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विद्रोहबाट नै अधिकार प्राप्त गर्न सकिने भन्दै अधिकार प्राप्तिका लागि एकजुट हुन महिलाहरुलाई आग्रह गरिन् । 

शाक्यले वर्तमान समयमा व्यवस्था बदल्ने भन्दा पनि हामीमा भएको सोच विचार बदल्न आवश्यक रहेको धारणा व्यक्त गरिन् । उनले महिला हकहितका लागि विभिन्न संघसंस्था स्थापना भए पनि व्यवहारमा लागू नभएको भन्दै ती संस्थाको भर नपरी महिला आफैँ सशक्त हुनुपर्नेमा जोड दिइन् ।     

एकल महिला समूहकी संस्थापक तथा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले समाजमा सामाजिक, आर्थिक, राजनैतिक तथा न्यायमा पहुँच र आम नेपाली महिलाहरुको हक अधिकारका लागि आवाज उठाइरहेका महिलाहरुलाई अभिनन्दन गरेको बताइन् । 

समाजमा महिलाहरुले योगदान गरेको भन्दै उनले पाँच दशकअघिको कुरा स्मरण गर्दै भनिन्, ‘जेलमा परेका अहिलेका नेताहरुलाई मैचा दिदीले चिठ्ठी दिएर उहाँहरुको मद्दत गर्नुभयो, र अहिले उही नेताहरु चर्चित हुनुहुन्छ, तर मैचा दिदीको नाम कहीँ छैन, कसैले चिन्दैन ।’ महिलालाई भन्दा पुरुषलाई प्राथमिकता दिएको बताउँदै उनले ‘हिज स्टोरी’ भएको बताइन् । 

‘सधैँ हिज स्टोरी हुन्छ, तर अब हामीले ‘हर स्टोरी’ अर्थात् उनको स्टोरी भन्ने बनाउनुपर्छ’ उनले कार्यक्रममा बोल्दै भनिन्, ‘पुरुष भन्दा महिला कम छैनन् ।’

यस्तै कार्यक्रममा समाजसेवी तथा साहित्यकार भद्रा घलेले महिलाहरु हरेक क्षेत्रबाट अगाडि बढ्न अग्रसर हुनुपर्ने बताइन् । घलेले राजनीतिक, सामाजिक, आर्थिकलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने अग्रज महिलालाई सम्मान गरेकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘महिला सृष्टिकर्ता भएका कारण महिलालाई सम्मान गर्नुपर्छ ।’  

संस्थाकी अध्यक्ष कविता पाँणेले एकल महिला समूह २०५२ सालमा स्थापना भई एकल महिला सवलिकरण, सशक्तिकरण, नेतृत्व विकास तथा सामाजिक न्यायका लागि कार्य गर्दै आइरहेको बताइन् । पिछडिएका महिलालाई समावेशी कार्यक्रममा सहभागी गराउनका साथै संस्थाले महिलालाई स्वरोजगार पनि बनाइरहेको उनको भनाइ छ ।  

यस्तै उनले नेपाली समाजमा सामाजिक, आर्थिक, राजनैतिक तथा न्यायमा पहुँच र आम नेपाली महिलाहरुको हक अधिकार तथा सशक्तिकरणका लागि विभिन्न क्षेत्रमा रहेर राष्ट्र र समाजलाई अतुलनीय सेवा पुर्‍याउँदै आएका अग्रह महिलाहरुलाई संस्थाको तर्फबाट सम्मान तथा अभिनन्दन गर्न पाउँद खुसी लागेको बताइन् । 

कार्यक्रममा हस्तकला मेलासमेत भएको थियो । एकल महिलाहरूले बनाएका सामानहरु राखेर मेला गरिएको संस्थाकी प्रबन्धक राजीन रायमाझीले बताइन् । 

Leave A Reply

Your email address will not be published.