निर्वाचनमा गठबन्धन गर्न चाहनेहरूका लागि ढोका खुला : एमाले

0

काठमाडौं : नेकपा एमालेका आसन्न निर्वाचनमा गठबन्धन गर्न चाहनेहरूका लागि ढोका खुला राख्ने निस्कर्ष निकालेको छ । 

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालमा बसेको स्थायी कमिटी बैठकमा नेताहरुले तालमेलको ढोका खुला राख्नुपर्ने प्रस्ताव राखेका हुन् । 

बैठकपछि एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एजेन्डा मिल्नेसँग गठबन्धनका लागि सधै ढोका खुला रहेको बताए ।

स्थायी समिति बैठकमा छ प्रदेशका इन्चार्जहरुले वाम गठबन्धनको सम्भावना नरहेको भन्दै एकढिक्का भएर चुनावको सामना गर्नुपर्ने बताएका छन् । 

अब कुनै पनि गठबन्धनको नाममा पार्टीभित्र फरक फरक धारणा आउन नहुने उनीहरुको भनाइ छ । 

बैठकले केन्द्रीय सल्लाहकार परिषद्मा तीन जनालाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । 

बैठकमा घनश्याम भुसाल, रघुजी पन्त, हिक्मत कार्की, शेरधन राई, शेरवहादुर तामाङ लगायतका नेताहरुले धारणा राखेका थिए । 

बैठकले पोलिटब्युरोको बैठक यही भदौ ९ गते र केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बोलाउने निर्णय गरेको छ । 

बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गरेका जीवन गौतम, वृजेश गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजबंशीलाई केन्द्रीय सदस्य र कुलभक्त शाक्य, डिबी नेपाली र नवराज पौडेल केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट विधि र मापदण्ड केन्द्रीय कमिटीमा पेश गर्ने निर्णय गरेको छ । भदौ १२ गते पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बस्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.