स्वतन्त्र बन्ने प्रवृत्ति मौलाउनु देशका लागि घातक : कांग्रेस प्रवक्ता महत

0

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा अहिले स्वतन्त्र बन्ने प्रवृत्ति मौलाइरहेको बताएका छन् । तर, मुलुकको दृघकालीन विकासका लागि स्वतन्त्रप्रवृत्ति घातक सावित हुने उनले बताए । 

नेपाल प्रेस युनियन कैलाली शाखाले शनिबार नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा प्रवक्ता महतले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारको सफलतापछि देशैभरि स्वतन्त्र बन्ने प्रवृत्ति मौलाएको बताएका हुन् । 

तर काठमाडौंकै मेयर बालेन्द्र शाहले पनि अहिले काम गर्न नसकेको कुरा जनताका सामु प्रमाणित हुन थालिसकेको उनको भनाइ छ । 

‘तपाईँहरुले देखिरहनुभएको छ । बोल्न सजिलो हुन्छ, काम गर्न कति गाहे हुन्छ । मेरै जिल्लामा अहिले कत्रो समस्या भइरहेको छ । यहाँ (काठमाडौं)को मेयरले एक महिनामै फोहोरको समस्या समाधान गरेर दुर्गन्धरहित बनाउँछु भनेर सम्झौता गर्नुभयो । तर अहिले सिसडोलको अवस्था बेहाल छ । त्यहाँ बसिसाध्य छैन’, महतले भने । 

उनले झुटा प्रचार गरेर स्वतन्त्रहरुले चुनाव जितेको बताए । ‘एकछिन प्रचार गरेर, एकछिन विज्ञापन गरेर आउनेहरुबाट समस्याको समाधान निस्किँदैन,’ उनले भने, ‘बोलेर प्रचार गरेजस्तो काम गर्न सजिलो छैन ।’

प्रवक्ता महतले भुपरिवेष्ठित मुलुक नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्नका लागि पनि दलीय प्रणालीलाई बलियो पार्नुपर्ने बताए । कांग्रेसकै नेतृत्वमा मात्रै नेपालले छिमेकीसहित सबै मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध राख्न सक्ने उनले बताए । यति हुँदाहुँदै पनि कांग्रेसका केही कमजोरी नै छैनन् भन्न नमिल्ने उनले बताए । कमजोरीलाई सुधारेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।  

उनले राष्ट्रको समृद्धि र स्वतन्त्रतालाई बलियो पार्न नेपाली कांग्रेसको हैसियत बलियो हुनुपर्ने भएकोले आगामी निर्वाचनमा बढी भन्दा बढी स्थानमा जित हासिल गर्ने गरी तयारीमा जुट्न आह्वान पनि गरे । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले पार्टीका भ्रातृ संगठनहरुलाई चलायमान बनाउनुपर्ने बताए । निर्वाचन नजिक आइसकेकोले अब सबै पार्टी पंक्तिले कांग्रेसलाई विजयी बनाउन लाग्नुपर्ने उनले बताए । नवौँ महाविधेशनबाट निर्वाचित प्रेस युनियनको नयाँ नेतृत्वले देशभर लोकतन्त्रका पक्षमा जागरण ल्याउन भूमिका खेल्नुपर्ने उनले बताए । 

Leave A Reply

Your email address will not be published.