जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने तयारी : उद्योगमन्त्री बडू

0

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् । 

लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि बुधबार उनले कारखानाका अवस्था अध्ययन गरेर उद्योग सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् । 

मन्त्री बडूले सरकारले राष्ट्रिय उत्पादन बढाउनको निम्ति भएका उद्योगहरुको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र रुग्ण उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको बताए ।

मन्त्री बडूले पुराना उद्योगहरु पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न नीजि क्षेत्रलाई आकर्षित गर्ने र सरकारको स्वामित्वमा रुग्ण उद्योग निजी क्षेत्रसँग सहकार्य वा निजी क्षेत्रलाई भाडामा दिएर चलाइने बताए । 

मुलुकको आर्थिक अवस्था सुधार गर्न,व्यापार घाटा कम गर्न,आयात प्रतिस्थापन गर्नको लागि बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

मन्त्री बडूले सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा निर्यात उद्योग चलाउनको लागि विशेष सहुलियत दिने नीति बनाएको समेत बताए । 

सरकारको स्वामित्वमा रहेका विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल घागो उद्योग, गोरखकाली रबर उद्योग अहिले बन्द अवस्थामा छन् ।

Leave A Reply

Your email address will not be published.