उपत्यकामा एक सातादेखि रोकिएको फोहोर बिहीबारबाट उठ्ने

0

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबारदेखि फोहोर संकलन गर्ने भएको छ ।

बन्चरेडाडाँ पुग्ने सडक मर्मतका लागि एक सातादेखि रोकिएको फोहोर बिहीबारबाट संकलन हुने महानगरपालिकाले जानकारी दिएको हो ।

अब बिहीबारबाट फोहोर उठाउने र ढुवानी गर्ने काम शुरू हुने महानगरको भनाइ छ ।

उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली एकमा सडक निर्माणका लागि भन्दै महानगरले कम्तिमा सात दिन फोहोर नउठाउने निर्णय गरेको थियो ।

सडक निर्माणको काम बुधबार बेलुकासम्म सकेर बिहीबारबाट फोहोर उठाउने योजना महानगरको छ ।

महानगरले बिहीबार बिहान ६ बजेदेखि पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन अनुरोध समेत गरेको छ ।

महानगरले यसअघि घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोधसमेत गरेको थियो ।

काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित बन्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.