प्रधानमन्त्री देउवाविरुद्ध किन भयो नाराबाजी ?

0

काठमाडौं : सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो । 

नागरिकता विधेयक र एमसीसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका हुन् । 

प्लेकार्डसहित ‘नागरिकता विधेयक खारेज गर’, ‘एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद’, ‘राष्ट्रियताको रक्षा गरौं’, ‘स्वाधीनताको रक्षा गरौं’ जस्ता नारा लगाउँदै युवाहरु विरोधमा उत्रिएका हुन् ।

नाराबाजी लगाएको आरोपमा तीनजना पक्राउ परेका छन् । तर, उनीहरुको परिचय खुलाइएको छैन । 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरुको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताएका छन् । उनले वीर शहीदहरुको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको बताएका हुन् । 

प्रधानमन्त्री देउवाले भीमसेन थापाले नेपालको स्वाधीनता र राष्ट्रियतालाई जोगाउन खेलेको भुमिका अतुलनीय रहेको बताए ।

प्रधानमन्त्री देउवाले पृथ्वीनारायण शाहको पालाबाट शुरु गरिएको नेपालको एकीकरणको कार्यलाई अघि बढाउन भीमसेन थापाको भुमिकाको प्रशंसा गरेर नसकिने समेत उल्लेख गरे । 

कार्यक्रममा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले एक लाख राशिको भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको छ । 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमल्सिनाले थापाको नासोका रुपमा रहेको लगनटोलस्थित सिलखाना पुरानै स्वरुपमा पुनःनिर्माणको व्यवस्था मिलाइदिन आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.