कर्णाली प्रदेशसभा सुचारु हुने, माओवादीको माग सम्बोधन गर्न मुख्यमन्त्री तयार

0

सुर्खेत : साउन ३ गतेदेखि अवरुद्ध कर्णाली प्रदेशको प्रदेशसभा सोमबारदेखि सुचारु हुने भएको छ । 

प्रदेशसभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र र सरकारको नेतृत्व गरिरहेको कांग्रेसबीच देखिएको असहमति पटकपटकको छलफलपछि समाधान भएको छ । 

मुख्यमन्त्री जीवनबहादुर शाहीले असहयोग गरेको भन्दै माओवादीले सदनमा सहभागी नहुने बताएको थियो । 

आइतबार बसेको गठबन्धनका नेताबीचको छलफलमा माओवादीले उठाएका विषयमा सम्बोधन गर्न मुख्यमन्त्री शाही सहमत भएसँगै सोमबारदेखि सदन सुचारु हुने बताएको छ । 

माओवादी केन्द्र कर्णाली प्रदेशसभाका सचेतक कृष्ण शाहका अनुसार माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्व घोषणा गर्ने, सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको योजना छानबिन गरेर कार्यान्वयन गर्ने, शान्ति पुनपूर्णस्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लगायतका महत्वका विधेयकको कुरामा मिलाएर लाने र मिलेर आएका पारित गर्ने सहमति भएको  छ । 

आइतबार अबेरसम्म बसेको गठबन्धनको बैठकमा कांग्रेसका तर्फबाट मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा माओवादीका तर्फबाट पूर्व मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाही, पूर्वमन्त्री एवं प्रदेश अध्यक्ष विमला केसी, एकीकृत समाजवादीको तर्फबाट संसदीय दलका नेता एवं कृषि मन्त्री चन्द्रबहादुर शाही, एस प्रदेश अध्यक्ष अम्मर बहादुर थापा सहभागी थिए ।  

Leave A Reply

Your email address will not be published.