सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

0

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ ।

मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा नेपालको पर्यटन विकांसका लागि भ्रमण दशकका रुपमा मनाउन लागिएको जानकारी दिइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, नेपाल पर्यटन बोर्ड तथा अन्य सम्बन्धित मन्त्रालयको सहयोगमा तीन महिनाभित्र आवश्यक तयारी अघि बढाइने मन्त्रालयको भनाइ छ ।

पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन प्रवर्द्धनलाई अभियानको रूपमा अघि बढाउनुपर्ने बताए ।

कोरोना महामारीको मारमा परेको पर्यटनको पुनरुत्थानका लाग कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले भ्रमण वर्षको रुपमा उत्सव मनाउनुभन्दा पनि अभियानकै रुपमा अघि बढाउनुपर्ने बताएका हुन् ।

दिन र वर्षको रुपमा पर्यटन प्रवर्द्धन गर्नेभन्दा पनि भ्रमण दशकका रुपमा मनाउनुपर्ने अवधारणा अघि सारिएको उनको भनाइ छ ।

मन्त्रालयले पर्यटन प्रवर्द्धनका लागि ७३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजनामा एक महिनामा गर्न सकिनेदेखि दीर्घकालसम्मका योजना समेटिएका छन् ।

नेपालको पर्यटनलाई चलायमान बनाउनका लागि मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने भएको छ ।

कोरोना महामारीका कारण सन् २०२० को नेपाल भ्रमण वर्ष स्थगित गरिएको थियो । सन् २०२० मा नेपालमा २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको थियो ।

Leave A Reply

Your email address will not be published.