युरोपेली देशहरुलाई ग्यासको प्रयोग १५ प्रतिशतसम्म कटौती गर्न युरोपेली आयोगको आग्रह

0

एजेन्सी : युरोपेली आयोगले युरोपेली देशहरूलाई ग्यासको प्रयोग १५ प्रतिशतसम्म कटौती गर्न आग्रह गरेको छ । 

रुसी ग्यास आपूर्ति रोकिन सक्ने चिन्ताबीच आयोगले त्यस क्षेत्रका देशहरूलाई अगस्टदेखि मार्चसम्म ग्यासको प्रयोग कम गर्न आग्रह गरेको हो । 

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेनले युरोपव्यापी ग्यास कटौती हुन सक्ने सम्भावित परिदृश्य भएको बताएकी छन् । 

रुसले आफूहरूलाई ब्ल्याकमेल गर्दै उर्जालाई हतियारको रूपमा प्रयोग गरेको उनको भनाइ छ । 

आयोगले यो लक्ष्य स्वेच्छिक भएको तर, यो ग्रीष्म ऋतुमा मस्कोले ग्यास आपूर्तिमा रोक लगाए कानुनी रूपमा बाध्यकारी हुने बताएको छ । 

मर्मतसम्भार गर्न दश दिनका लागि बन्द गरिएको रुस देखि जर्मनीसम्मको नोर्ड स्ट्रिम पाइपलाईन आजदेखि पुनः सञ्चालन हुँदैछ । तर मस्कोले आफ्नो वाचा पालना गर्छ कि गर्दैन भन्ने निश्चित छैन । 

रुसले गतवर्ष युरोपलाई आफ्नो प्राकृतिक ग्यासको ४० प्रतिशत आपूर्ति गरेको थियो । जर्मनी, इटली रुसका ठुला ग्यास आयातकर्ता हुन् । 

रुसले युक्रेनमा आक्रमण गरेदेखि पोल्यान्ड, बुल्गेरिया, नेदरल्यान्ड्स्, डेनमार्क र फिनल्यान्ड लगायत रुबलमा ग्यासको भुक्तानीको मागलाई अस्वीकार गर्ने धेरै देशहरूमा आपूर्ति कटौती गरेको छ ।

Leave A Reply

Your email address will not be published.