काठमाडौं महानगरपालिकाले एक हप्ता फोहोर नउठाउने

0

काठमाडौं : काठमाडौं महानगरपालिकाले एक हप्ताका लागि फोहोर नउठाउने भएको छ ।

महानगरले एक सूचनामार्फत बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले ७ दिनका लागि सवारी साधन नचलाउन आग्रह गरिएको भन्दै त्यस अवधिमा फोहोर नउठाइने जनाएको हो ।

महानगरले कम्तीमा एक हप्ताका लागि घरबाट निस्कने फोहोरलाई बाहिर नफाली घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ ।

फोहोरलाई सार्वजनिक स्थान बाटो, चोक, गल्लीमा नफाल्न आग्रह गरिएको छ ।

बिहीबारदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिने भएको हो ।

बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए ।

हरेक दिन उपत्यकाबाट एक हजार दुई मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिकटन फोहोर निस्किने गर्दछ ।

निजी र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडी फोहोर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।

हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापन स्थल निर्माण गरिएको छ ।

हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ ।

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।

Leave A Reply

Your email address will not be published.