नेपालमा ओमिक्रोनको उपप्रजाति तीव्र गतिमा फैलँदै

0

काठमाडौं : निकै संक्रामक मानिएको ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ नेपालमा तिब्र रुपमा फैलिएको छ । 

अहिलेसम्मकै कोरोना भेरिएन्टमध्ये छिटो फैलिने मानिएको यो उपप्रजातिका कारण केही दिनयता संक्रमितको संख्या बढेको छ । 

भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढेको हो । काठमाडौंमा पाँच सय भन्दा बढी संक्रमित छन् । शून्य संक्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ । 

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमित हुनेमा सत्तरी प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । 

संक्रमण छिटो फैलिए पनि तुलनात्मक रूपमा अस्पताल भर्ना र मृत्युको जोखिमको ग्राफ एकदम कम हुने चिकित्सकको भनाइ छ । 

दीर्घरोगी र खोप लगाएका बूढापाका वा अन्यमा संक्रमणले गम्भीर विरामी पार्नसक्ने बताइएको छ । 

पछिल्लो उपप्रजातिको संक्रमण हुँदा घाँटी दुख्ने, जीउ दुख्ने, थकित हुने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, ज्वरो आउने, गन्ध र स्वाद थाहा नपाउने, पसिना आउनेलगायत लक्षण देखिने गरेको छ । 

हालसम्म कुल जनसंख्याको ७०.१ प्रतिशतले कोरोना खोप लगाएका छन् । सरकारले हाल ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप दिइरहेको छ ।

यसैबीच काठमाडौंमा मंगलबारदेखि १८ वर्षमाथिका उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिन शुरु गरिएको छ । 

काठमाडौं जिल्लाका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन थालिएको हो । 

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । 

काठमाडौंमा आगामी छ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । 

दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्ने चिकित्सकले बताएका छन् । 

ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरको सुझाव छ । 

खोप लगाउन जाने व्यक्तिले पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित जान पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.