कोरोना संक्रमण फेरि उकालो लाग्दै, मापदण्ड पालना गर्न सुझाव

0

काठमाडौं : कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले स्वास्थ्य मापदण्ड पालनामा लापरबाही नगर्न विज्ञहरुले आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्र थप २ सय २९ जनामा संक्रमण पुष्टि भएर सक्रिय संक्रमितको संख्या १ हजार २ सय नाघेको छ । संक्रमण दर ६ प्रतिशतभन्दा बढी पुगेको र अहिले ओमिक्रोन भेरियन्ट र यसका उपप्रजाति ‘बीए टू’ र ‘बीए फाइभ’ बढी सक्रिय रहेको पाइएको मन्त्रालयले जनाएकाे छ ।

कोरोनाको ‘बी फाइभ’ उपप्रजातिलाई सबैभन्दा धेरै संक्रामक मानिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार भारतीय सीमा नाकाबाट नेपाल आउनेमा संक्रमण बढी देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डाक्टर शेरबहादुर पुनले संक्रमण दर बढिरहेको यो बेला नआत्तिन तर सावधानी अपनाउन आग्रह गरे ।

धेरैले खोप लगाइसकेकाले पहिलेजस्तो अवस्था गम्भीर नभए पनि स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य गर्नुपर्ने उनको भनाइ छ ।

घर बाहिर निस्कँदा या भिडभाड भएको बेलामा मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर प्रयोग गर्न र भिडभाड भएको ठाउँमा भौतिक दूरीको ख्याल गर्न विज्ञहरुले आग्रह गर्दै आएका छन् ।  

Leave A Reply

Your email address will not be published.