श्रीलंकमा झन्डै २० वर्ष सत्तामा बसेको एउटा राजनीतिक परिवारको अन्त्य

0

एजेन्सी : श्रीलंकाको संसद्ले गोटाबाय राजपक्षले राष्ट्रपतिको पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । 

संसद्का सभामुख श्रीलंकाली संसदका सभामुख यापा अभयवर्धनले आफूले राजपक्षको राजीनामा स्वीकृत गरेको जानकारी दिएका हुन् । 

राजीनामा स्वीकृत भएसँगै श्रीलंकमा झन्डै २० वर्ष सत्तामा बसेको एउटा राजनीतिक परिवारको अन्त्य भएको छ । 

राजपक्षले राजीनामा दिएको थाहा पाएपछि प्रदर्शनकारीले कोलम्बोमा उत्सव मनाएका छन् । 

मुलुकमा प्रदर्शन चर्केपछि माल्दिभ्स हुँदै सिंगापुर पुगेर राजपक्षले बिहीवार राजीनामा दिएका थिए । 

प्रधानमन्त्री रनिल विक्रमसिंघेले आजै अन्तरिम राष्ट्रपतिका रूपमा शपथ लिने बताइएको छ । 

श्रीलंकाको संविधान अनुसार राष्ट्रपतिले राजीनामा दिएको अवस्थामा प्रधानमन्त्री कामचलाउ राष्ट्राध्यक्ष बन्छन् । 

उनलाई गोटाबायले कार्यबहाक राष्ट्रपतिको जिम्मेवारी दिएका थिए । राजपक्षको राजीनामासँगै नयाँ राष्ट्रपति छान्ने प्रक्रिया थाल्न बाटो खुलेको छ । 

सभामुखले नयाँ राष्ट्रपति छान्ने प्रक्रिया थाल्ने उद्देश्यले शनिवार संसद्को बैठक बोलाएका छन् । 

श्रीलंकाक‍ो कानून अनुसार संसद्ले ३० दिनभित्र नयाँ नेता छान्नुपर्नेछ । रनिल विक्रमसिंघे पनि राष्ट्रपतिका सम्भावित उम्मेदवार रहेका छन् । 

विपक्षी नेता सजित प्रेमदास पनि आकांक्षी रहेका छन् । 

आर्थिक संकटमा परेपछि राष्ट्रपतिका कारण देशको अर्थतन्त्र भताभुङ्ग भएको भन्दै जनतामा आक्रोश बढेको छ । 

पछिल्लो समय खाद्यान्न, इन्धन र अत्यावश्यक दैनिक उपभोग्य वस्तुको अभाव देखिएको छ ।

Leave A Reply

Your email address will not be published.