अध्यक्ष दाहालसँग सीपीसीका विदेश विभाग प्रमुख लिउको भेट, के विषयमा भयो कुराकानी ?

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभागप्रमुख लिउ जियाञ्जाओबी सोमबार भेटवार्ता भएको छ । 

दाहाल निवास खुमलटारमा भएको भेटमा दुई पक्षीय हित र नेपाल चिन सम्बन्धबारे कुराकानी भएको नेताहरुले बताएका छन् । 

भेटमा सीपीसीका विदेश विभाग प्रमुख लिउले नेपालका कम्युनिष्ट पार्टीहरु एक भएर जान सुझाव दिएको बताइएको छ । 

पछिल्लो समय नेपालमा अमेरिकी सहयोग एमसीसी भित्रिएपछिको परिस्थितीका विषयमा पनि उनले चासो राखेको बुझिएको छ । 

जवाफमा माओवादी अध्यक्ष दाहालले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको भन्दै चीन विरोधी गतिविधि नेपालमा हुन नदिने आश्वासन दिएका छन् । 

उनले नेपालमा कम्युनिष्ट पार्टीहरु एक भएर जानुपर्ने पक्षमा आफू भएपनि तत्कालै त्यो सम्भव नदेखिएको पनि उनले जानकारी गराएका छन् । 

भेटमा माओवादी नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी थिए । माओवादीले सोमबार नै चिनियाँ नेताको सम्मानमा रात्रिभोज समेत आयोजना गरेको छ । 

चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरेको थियो । 

प्रधानमन्त्रीसँगको भेटमा लिउले नेपालको भूमि चीन विरोधी गतिविधि हुन नहुनेमा ध्यानाकर्षण गराएका थिए ।

Leave A Reply

Your email address will not be published.