नेपालको अर्थतन्त्र गत वर्षको तुलनामा झन् नाजुक

0

काठमाडौं : गत वर्षको तुलनामा नेपालको अर्थतन्त्र झन् नाजुक बन्दै गएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । 

व्यापार घाटा चुलिएको छ भने मूल्यवृद्धि दोब्बर भएको छ । विदेशी मुद्राको सञ्चितिमा भने जेठ महिनामा केही सुधार आएको छ ।

केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार जेठमा विदेशी मुद्राको सञ्चिति नौ अर्ब ४५ करोड डलर पुगेको छ । 

वैशाखका तुलनामा जेठमा विदेशी मुद्राको सञ्चिति १७ करोड डलरले बढेको हो । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड कायम भएको छ । 

यो सञ्चितिले ६ महीना २२ दिनको वस्तु र सेवाको आयातलाई थेग्ने राष्ट्र बैंकले जनाएको छ । 

रेमिट्यान्सको आप्रवाहमा सामान्य सुधार आएकाले विदेशी मुद्राको सञ्चिति बढेको हो । 

जेठमा ९२ अर्ब ३८ करोड रुपैयाँ बराबर रेमिटेन्स भित्रिएको छ । यो रकम गत वर्षको यसै अवधिको तुलनामा ३.८ प्रतिशत बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।

जेठसम्म देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर शोधनान्तर स्थिति दुई खर्ब ७० अर्बले घाटामा छ । 

एक वर्षको अवधिमा शोधानन्तर घाटा झन्डै १८ गुणाले बढेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको ११ महीनामा नेपालले वैदेशिक व्यापारमा १५ खर्ब ७७ अर्ब रुपैयाँ घाटा बेहोरेको छ । 

यो अवधिमा नेपालले १७ खर्ब ६३ अर्बको सामान आयात भएको छ भने एक खर्ब ८६ अर्बको मात्रै निर्यात गरेको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.२ प्रतिशत, १६.० प्रतिशत र ४६.१ प्रतिशतले वृद्धि भएको छ । 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, सुन अन्य मेशिनरी तथा पार्ट्सलगायतका वस्तुको आयात बढेको छ । 

एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुको आयात भने गत आवको तुलनामा कमी आएको देखिन्छ ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार एक वर्षमा मूल्यवृद्धि दोब्बर भएको छ । जेठ महिनाको मुद्रास्फीति ८ दशमलब ५६ प्रतिशत छ । 

वैशाखमा उपभोक्ता मूल्यवृद्धि ७ दशमलब ८७ प्रतिशत रहेकामा जेठमा आइपुग्दा ८ दशमलब ५६ प्रतिशत पुगेको हो । यो अघिल्लो बर्षको तुलनामा झण्डै दोब्बर हो । 

अघिल्लो जेठमा मुद्रास्फीति चार दशमलब १९ प्रतिशत रहेको थियो । 

जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यस्फीति ७ दशमलब ४१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यस्फीति ९ दशमलब ४४ प्रतिशत पुगेको छ । 

अघिल्लो वर्षको तुलनामा घ्यू तथा तेलको मूल्यवृद्धि २२ दशमलब ६० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ११ दशमलब २२, सुर्तीजन्य र मदिराजन्य पदार्थको नौ दशमलब ७० र दाल तथा गेडागुडी उपसूमहको मूल्यवृद्धि नौ दशमलब ६८ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

Leave A Reply

Your email address will not be published.