गठबन्धनबारे ओलीको टिप्पणी- एमालेले नक्कली बिहे गरेर सक्कली डिभोर्स गर्दैन

0

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धन नगर्ने बताएका छन् ।

सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले यथास्थिति नै दोहोरिने खालका गठबन्धन बनाउन एमाले अग्रसर नहुने बताए ।

बिहे र डिभोर्सको प्रसङ्गलाई जोडेर गठबन्धनबारे ओलीले नक्कली बिहे गरेर सक्कली डिभोर्स नगर्ने बताए ।

‘एकपल्ट बिहे हुन्छ फेरि डिभोर्स हुन्छ । फेरि बिहे हुन्छ, फेरि डिभोर्स पनि हुन्छ । यसको पछाडिको कारण डिभोर्स चैँ साँचो हुन्छ, बिहे चैँ नक्कली हुन्छ,’ ओलीले भने ।

त्यस कारण साँचो डिभोर्स गर्नका लागि, नक्कली बिहे गर्ने कुरमा एमाले नहत्तारिँने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा मुद्दा मामिलाका लागि ५६ हजारवटा हस्ताक्षर गर्नुपरेको बताए । 

भ्रष्टाचार, अनियमितताका विषयमा एमाले न्यायिक बाटोमा जान्छ कि जाँदैन भन्ने प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले एमाले मुद्दा मामिलाप्रति फ्रस्टेट भएको बताए । 

आफू प्रधानमन्त्री हुँदा सानातिना विषयमा प्रधानमन्त्रीलाई विपक्षी बनाएर मुद्दा दायरा हुँदा जवाफ दिँदा निकै हैरानी खेपेको उनले गुनासो गरे । सो क्रममा करिब ५६ हजारपटक हस्ताक्षर गरेको र हस्ताक्षर गर्ने क्रममा औँलामा ठेला नै उठेको ओलीको भनाइ छ । 

‘एउटा मुद्दा कम्तीमा छोटो लेख्दा पनि १० पेजको प्रतिवाद पत्र हुन्थ्यो । एउटा मुद्दा १० पेजको तीनप्रति  प्रतिवाद पत्र लेख्नुपर्छ । । तीनप्रतिमै प्रधानमन्त्रीले सही गर्नुपर्छ, ३० पेज त भयो । ३० पेजको शिर र पिँधमा सही गर्नुपर्छ । छोटो भयो भने ६० वटामा सही गर्नुपर्छ,’ आफू प्रधानमन्त्री हुँदा सरकारलाई विपक्षी बनाएर दायर भएको रिटको जवाफ दिँदाको अवस्थाबारे जानकारी दिँदै ओलीले भने, ‘मैलै मोटामोटी हिसाब गर्दा ५५/५६ हजार सिग्नेचर मैले प्रधानमन्त्री हुँदा मुद्दाको मामलामा गर्नुपर्‍यो, यहाँनिर (हातको औँला देखाउँदै) ठेला उठ्यो ।’

Leave A Reply

Your email address will not be published.