नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

0

काठमाडौं : नेपाल भित्रने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १२.६ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १०.५ प्रतिशतले बढेको थियो ।

यस्तै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ । 

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या सो अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो । 

Leave A Reply

Your email address will not be published.