एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभा शुरु हुँदै

0

संयुक्त राज्य अमेरिका (जीएनएन) : अमेरिकाको -याले मेरिएट सिटी सेन्टर, नर्थ क्यारोलिनामा जुलाई ३–४ तारिख गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गर्न गइरहेको  ११औँ वार्षिक साधारणसभाको संपुर्ण तयारी पुरा भएको जनाएको छ ।

दुई दिनसम्म चल्ने उक्त कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाको भर्चुअल रेकर्डेड सम्बोधनबाट सुरु हुनेछ । गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षतामा हुने कार्यक्रमको उदघाटन सत्रलाई परराष्ट्रमन्त्री डा. नारायण खड्का र सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एनआरएनए आइसीसीका अध्यक्षत्रय कुल आचार्य रविना थापा र बद्रि के सी, महासचिवद्वय डा केशव पौडेल र गौरी जोशी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । साधारणसभामा भागलिन आमन्त्रित अतिथि, एनआरएनए अमेरिकाका सदस्यहरु नर्थ क्यारोलाइनमा कार्यक्रम आयोजना स्थलमा पुगिसकेका छन् ।

एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा सह आयोजक  दिलु पराजुलीले साधारण सभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन माथि छलफल, गैर आवासीय नेपाली नागरिकता, विधान संशोधन र संस्थाले एक वर्ष विचमा गरेका कार्यक्रमको समिक्षा साथै भावि कार्यक्रमबारे मा छलफल गरिने  बताए  ।

विज्ञ सम्मेलनको तयारी

गैर आवासीय नेपाली संघ अमेरिकाको साधारण सभाको मुख्य आकर्षण राष्ट्रिय ज्ञान सम्मेलन हो । जहाँ नेपाल र संयुक्त राज्य अमेरिकाका विज्ञहरुले विभीन्न बिषयमा छलफल गर्ने छन्  । सन २०२२ जुलाई ३ को उद्घाटन र बन्द सत्र पछि  जुलाई ४ तारिख (सोमबार)   राष्ट्रिय ज्ञान सम्मेलनको तेस्रो संस्करण आयोजना गरिने छ । एनआरएनए एनसीसी अमेरिकाको विज्ञान, प्रविधि र आविष्कार समिति (एसटीआईसी) ले ज्ञान सम्मेलनको संयोजन गरि रहेको छ  । उक्त समितिका अध्यक्ष डाक्टर माधव पाण्डेले ज्ञान सम्मेलनको उद्घाटन सत्रलाई युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका प्रोफेसर जेमस एल पिसओक, त्रिभुवन विश्व विद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटा, राष्टिय विज्ञान प्रविधि प्रतिष्ठानका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले संवोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए  । 

११ औं वार्षिक साधारणसभासँगै हुने  तेस्रो ज्ञान सम्मेलनको प्रमुख उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका साथै अमेरिका र नेपालका विभिन्न क्षेत्रका प्रफेशनल तथा विज्ञहरूलाई एकै ठाउमा ल्याएर ज्ञान, अनुभव, विज्ञता, क्षमता, अनुभव र पूँजिलाई नेपालको हितमा कसरी प्रयोग गर्न सकिन्छ भनेर छलफल गर्नु हो । संयुक्त राज्य अमेरिका र नेपाल दुवैका विज्ञहरूको विशेषज्ञता अमेरिका र नेपालका नेपाली समुदायका लागि फलदायी हुनेछ । अघिल्ला दुई संस्करणजस्तै यस अधिवेशनले पनि थुप्रै विषय वस्तुमा फलदायी छलफल गर्ने विश्वास लिइएको छ ।

सम्मेलनमा ‘तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता’, ‘दिगो कृषि प्राकृतिक स्रोत व्यवस्थापन’, ‘इन्जिनियरिङ र पूर्वाधार’, ‘नेपाल अमेरिका सम्बन्धः ७५ वर्षको मित्रताको प्रतिबिम्ब’, ‘सामाजिक विज्ञान र परोपकार’, ‘व्यवसाय र उद्यमशीलता’, ‘आधारभूत विज्ञान’, ‘महिलाका मुद्दाहरू’, ‘मास मिडिया र सोशल मिडिया’, ‘नेपाली संस्कृति र सम्पदा’, ‘स्टेममा युवाहरू’ लगायतका विषयमा छलफल हुनेछ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले ११ औं वार्षिक साधारण सभा र ज्ञान सम्मेलनमा राष्ट्रिय समन्वय परिषद अमेरिकाका सबै पन्जिकृत सदस्यहरुलाई आफै उपस्थित भएर वा भर्चुएल रुपमा सहभागी हुन आमन्त्रण गरेका छन्  ।

सबै सत्रहरू एनआरएनए एनसीसीको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिने र इच्छुक सहभागीहरू जुममार्फत पनि छलफलमा सहभागी हुन सक्ने छन्  ।

Leave A Reply

Your email address will not be published.