एमालेद्वारा चुनावको अन्तर्घात छानविन गर्न समिति गठन, समितिलाई कारबाहीको पनि अधिकार

0

काठमाडौं : नेकपा एमालेले स्थानीय चुनावमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएपनि अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ ।

आइतबार बसेको सचिवालय बैठकले पार्टीभित्रैबाट भएका अन्तर्घात तथा अराजकताका घटनाहरूको छानविन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिलाई छानविनका साथै कारबाहीको पनि अधिकार दिइएको एमाले प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी रहेका छन् । 

सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायम हुनेमा विश्वास नभएको निष्कर्ष पनि एमालेले निकालेको छ । दलहरुबीचको आपसी अविश्वासका कारण गठबन्धन टिक्ने सम्भावना कम रहेको एमालेले ठहर गरेको हो ।

बैठकले सरकारको जनविरोधी कामको विरोध गर्ने निर्णय पनि गरेको छ । महँगी, भ्रष्टाचारविरुद्ध जनपरिचालन गर्ने पनि निर्णय पनि एमालेको छ । एमालेले केन्द्रीयस्तर र प्रदेशस्तरको प्रशिक्षण सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

एमालेले पार्टी नेता कार्यकर्तालाई सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

प्रदेश एकका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशका लागि उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशका लागि विष्णु पौडेल,गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवास चन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकिएको छ ।

सचिवालय बैठकले पार्टीका विभिन्न विभागहरुमा मनोनित गरेको छ । एमालेले भौतिक पूर्वाधार तथा यातायात नामक नयाँ विभाग बनाएको छ । एमालेका केही विभागहरूमा सचिव तोकेको छ ।

Leave A Reply

Your email address will not be published.