निजगढमै बन्ला अन्तर्राष्ट्रिय विमानस्थल ?

0

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् । 

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको केही दिनमा नै प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका शीर्ष नेता निजगढ पुगेर निर्माण अगाडि बढाउने सन्देश दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित विभागीय मन्त्रीहरू शनिवार सेनाको हेलिकोप्टरबाट निर्माणाधीन निजगढ विमानस्थल पुगेका थिए । 

शीर्ष नेताहरूलाई विमानस्थलबारे विमानस्थल निर्माण आयोजनाका प्रमुख विजय यादवले जानकारी गराएका थिए । विमानस्थलको अवलोकनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विधि र प्रक्रिया पूरा गरेर निजगढ विमानस्थल बनाउने प्रतिवद्धता जनाए ।

गठबन्धनका अर्का नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नभए फास्ट ट्राकको पनि औचित्य पुष्टि नहुने बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सर्वोच्चको आदेशले विमानस्थल निर्माणमा रोक नलगाएको उल्लेख गर्दै वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने बताए ।

जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सहमति जुटाएर ५०, ६० वर्षपछिको अवस्थालाई मध्यनजर गर्दै विमानस्थल निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिए । 

सर्वोच्च अदालतको पूर्णपाठले निजगढमा विमानस्थल बन्न रोक नलगाएको निष्कर्षपछि शीर्ष नेताहरूले निर्माण क्षेत्रमै पुगेर काम अगाडि बढाउने प्रष्ट सन्देश दिएका छन् ।

यसअघि विमानस्थल बनाउन सरकारले गरेको निर्णय, चार किल्ला तोकेर क्षेत्रफल उपलब्ध गराउने सूचना, रुख काट्ने निर्णय, वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन र तिनका आधारमा गरिएका कामहरूलाई बहुमत न्यायाधीशहरूले रद्द गरिदिएका थिए । 

तर बहुमत न्यायाधीशहरूले दिएको आदेशमा भनिएको छ, ‘कुनकुन ठाउँको, कति क्षेत्रफल जग्गामा, कति क्षमताको विमानस्थल बनाउने हो यकिन गरी न्यूनतम रूपमा मात्र वातावरणीय क्षति हुने र प्राविधिक दृष्टिले उपयुक्त देखिएको स्थानमा विमानस्थल बनाउने काम गर्नु, गराउनु ।’

Leave A Reply

Your email address will not be published.