विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत : छानविन समिति

0

बुटवल : लुम्बिनी प्रदेश सरकारकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीले पदीय मर्यादा विपरीत कार्य गरेको छानविन समितिले निश्कर्ष निकालेको छ ।

उनले स्वास्थ्य राज्यमन्त्री पदमा रहँदा आवेगमा आएर एकराज बस्नेतको घरमा गएर अभद्र व्यवहार गरेको निश्कर्षसहितको प्रतिवेदन सरकारलाई छानविन समितिले बुझाएको छ ।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानविन समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाउंदै वलीबाट विवादित व्यक्तिको घरमा गएर पदीय मर्यादा विपरीत आवेगात्मक कमजोरी गरेको निश्कर्षसहितको प्रतिवेदन बुझाएको हो ।

‘एकराज बस्नेतले सापटी लगेको रकम फिर्ता नगर्दा राज्यमन्त्री वलीबाट आवेगात्मक कमजोरी हुन गएको देखियो’, छानविन समितिका संयोजक शर्माले भने, ‘अन्य उपायबाट रकम असुली गर्नुपर्दथ्यो ।’ विमलाले एकराजसंग साढे ६ लाख रुपैयाँ सापटी दिएको रकम फिर्ता लिनुपर्ने छानविनबाट खुलेको संयोजक शर्माले बताएका छन् ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले भने मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढंगले घटना भएको विषय पनि उठेकाले त्यसको पनि छानविन गरिने बताए । ‘एकराजले घरमै छु भनेर बोलाएको घरमा जाँदा उनी नभएको तर धेरैजना आफन्त र पत्रकार समेत पुगिसकेकाले सुनियोजित तरिकाले बदनाम गर्न खोजिएको पनि आशंका छ’, मुख्यमन्त्री केसीले भने । प्रतिवेदनको विस्तृत अध्ययन गरेर सरकारले आवश्यक कदम चाल्ने मुख्यमन्त्री केसीले बताए ।

विवादमा आएपछि राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिएकी र १५ गते राजीनामा स्वीकृत भएको थियो । राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगर–५ का एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि हातपात गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.