एनआरएनए यूकेद्वारा भूतपूर्व गोर्खा मुद्दा र नागरिकताबारे पूर्वमन्त्री तथा सांसदहरुको ध्यानाकर्षण

0

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायत भ्रमणमा रहेका पूर्वमन्त्री र सांसदहरुसँग एक अन्तरक्रिया गरेको छ ।

शुक्रबार साँझ अल्डरसटस्थित एनआरएनए यूकेले आफ्नै कार्यालयमा पूर्वमन्त्रीहरु डा. मिनेन्द्र रिजाल र सुरेन्द्र पाण्डे तथा सांसदहरु प्रमिला राई, जयकुमार राईलगायत नेतासँग अन्तरक्रिया गरेको हो ।

भूतपूर्व गोर्खा मुद्दा र एनआरएनए नागरिकता केन्द्रित उक्त कार्यक्रममा पूर्व मन्त्री र सांसदहरुले प्रवासमा रहेका लाखौं नेपालीलाई स्वदेश फर्काउने वातावरण मिलाउन, उनीहरुलाई आवश्यक सुविधा दिन र गोर्खा मुद्दा समाधानमा दत्तचित्त भएर लाग्ने आश्वासन दिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले भूतपूर्व गोर्खा मुद्दामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पटकपटक पहल र प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदै यो विषय गम्भीररुपमा टुंग्याउनुपर्ने बताए ।

डा. रिजालले नागरिकता विधेयक संसदमा प्रस्तुत भइसकेकाले त्यो पारित हुनेमा ढुक्क हुन आग्रहसमेत गरे ।

‘हामीले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार रहने भनेर संविधानमा लेख्यौं, तर कानून नियमले संकुचित गर्न खोज्यौं,’ उनले भने, ‘केही साथीहरुले संविधानमा लेखिएका कुरा अहिले तलमाथि गर्न खोजेर विधेयक अड्किइरहेको छ ।’

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भूतपूर्व गोर्खा मुद्दा समाधान गर्न सहज नभएपनि समाधान नगरी नहुने भएकाले बेलायत सरकारलाई तीव्र दबाब दिइरहन आवश्यक रहेको बताए ।

नेता पाण्डेले गोर्खा मुद्दामा ऐक्यवद्धता जनाउँदै आफूहरु नेपाल फर्किएर परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर यसबारे थप झकझकाउने आश्वासन दिए ।

पाण्डेले नेपालको संविधानले प्रदत्त गरेको गैर आवासीय नागरिकता दिने सवालमा खास समस्या नभएको तर वंशजको नागरिकता दिन्छौं भन्न नसकिने बताए । उनले एनआरएनए नागरिकता विधेयक पारित हुने बताए ।

‘तपाईंहरु नेपाल नगए पनि बुद्धि र पैसा नेपाल पठाउनुस्, यहाँ पार्टीगत गुटउपगुट वा जुलुस धर्ना गरेर नबस्नुस्,’ पाण्डेले सुझाए, ‘बरु बेलायती संसदमा नेपाली प्रतिनिधित्व हुने वातावरण मिलाउन सके हाम्रा कुरा सधैं संसदमा राख्न सकिन्छ ।’

कार्यक्रमका सभापति तथा एनआरएनए यूके प्रेम गाहा मगरले नेताहरुसँग भूतपूर्व गोर्खा मुद्दा समाधानमा पहल र संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता विधेयक पारित गर्न पहलका लागि जोड दिए ।

एनआरएनए यूके उपाध्यक्ष तथा कार्यक्रम संयोजक मोहन कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा सांसदहरु पदम गिरी, जयकुमार राई, श्याम श्रेष्ठ, रामबाबु यादव, प्रमिला राई, एनआरएनए यूके प्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व महासचिव आरके त्रिपाठी, भूतपूर्व गोर्खा अभियन्ता ज्ञानराज राई लगायतले पनि सम्बोधन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.