काठमाडौंका विभिन्न ५ स्थानमा हैजा पुष्टि, सतर्कता अपनाउन आग्रह

0

काठमाडौं : स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । 

बागबजारमा दुईजना, डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एक/एक जना बिरामी भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको हो । 

हैजाका बिरामीहरू १८ वर्षदेखि ५५ वर्षका रहेका छन् । विरामीमध्ये एक जनालाई आईसीयुमा राखेर उपचार गरिएको महाशाखाले जनाएको छ । 

झाडापखालाको उपचार गराउन अस्पताल पुगेका विरामीमा हैजा पुष्टि भएको हो । फेला पारिएका सबै बिरामीले खाने गरेको पानीको नमुना संकलन गरी जाँच गर्दा झाडा पखाला गराउने जीवाणु पाइएको महाशाखाले जनाएको छ । 

सबै बिरामीमा हैजाको कारण दूषित पानी भएको अध्ययनले देखाएको छ । 

हैजा पुष्टि भएसँगै कारण पत्ता लगाउन एवं रोकथाम तथा नियन्त्रणबारे सुझाव दिन जिल्ला जनस्वास्थ्य कार्यालयले छानबिन टोली गठन गरेको छ । टोलीले काम थालिसकेको पनि मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.