काठमाडौं : न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन प्रकरणको विषयले सदनमा समेत प्रवेश पाएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको बिशेष समयमा सांसद लीलादेवी सिटौलाले घुस प्रकरणले नेपालको न्यायपालिकाको अवस्था उजागर गरेको बताइन् ।
राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको उनको भनाइ छ ।
सांसद गजेन्द्र बहादुर महतले न्यायालय भष्टाचारको अखडा बनिरहेको भन्दै यसबारेमा संसद पनि बन्धक भएर बस्न नहुने बताए ।
सांसद शेरबहादुर तामाङले आफूले संसद सचिवालयमा दर्ता गरेको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक अहिलेसम्म छलफलमा नल्याएको भन्दै आपत्ति जनाए ।
सांसद तामाङले संसद नियमावली अनुसार विधेयक दर्ता भएको चार दिनभित्र विधेयकको प्रति सबै सांसदलाई दिनुपर्ने भएपनि उपलब्ध नगराएको गुनासो गरे ।
सांसद शक्ति बस्नेतले मौलिक हकको रुपमा व्यवस्था गरिएका व्यवस्थालाई कानूनीरुप दिन ढिलाई भइरहेको गुनासो गरे ।
भएको के थियो ?
मंगलबार न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घूस लेनदेनको अडियो वार्ता सार्वजनिक भएको थियो ।
संवादमा कोइराला र पोखेरेलबीच इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरिएको छ ।
अडियोमा तामाङलाई धरौटीमा छुटाउन दश करोडको मोलमोलाइ भएको सुनिएको छ ।
सिभिल बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको अभियोगमा तामाङ हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।
न्यायाधीश कोइरालाले भने सामाजिक सञ्जालमार्फत आफूबाट कुनै अनुचित काम नभएको दाबी गरेका छन् । उनले छानविनमा सहयोग गर्ने पनि उल्लेख गरेक छन् ।