निकालिएका खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने एन्फाको निर्णय

0

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक विवादमा राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

एन्फा कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई स सम्मान फिर्ता बोलाउने निर्णय गरेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको व्यवस्थापनको विषयलाई लिएर उपकप्तान रोहित चन्द सहित १० खेलाडीलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए । उनले खेलाडीलाई समर्थन गरेको आरोपमा नियमित कप्तान किरण चेम्जोङलाई समेत राष्ट्रिय टिमबाट बाहिर राखेका थिए ।

एन्फाको निर्णयसँगै प्रशिक्षण बाहिर रहेका रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अन्जन विष्ट प्रशिक्षणमा फर्कने भएका छन् ।

बैठकले खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । बैठकले छानविन समितिको प्रतिवेदन अनुसार प्रशिक्षकको विषयमा कतार फुटबल संघसँग छलफल गर्न महासचिवलाई आवश्यक निर्देशन दिएको छ ।

बैठकले संघको महासचिवमा किरण राई, कोषाध्यक्षमा रबिन्द्र जोशी र अन्तराष्ट्रिय विभाग प्रमुखमा नविन पाडेलाई नियुक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.