पार्टी विधिसम्मत सञ्चालन नभएको भन्दै महामन्त्रीद्वयले गराए सभापति देउवाको ध्यानाकर्षण

0

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी विधिसम्मत सञ्चालन नभएको भन्दै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पार्टीको आन्तरिक, राष्ट्रिय राजनीति र समसामयिक नौ वटा विषयका छलफल भएको महामन्त्री शर्माले जानकारी दिएका हुन् । 

१४औं महाधिवेशन लगत्तै गर्ने भनिएको नीति अधिवेशन हुन नसकेको, केन्द्रीय समिति बैठक नबोलाइएको र विधानतः छ महिनाभित्र बनाइसक्नुपर्ने विभाग गठन नभएकोमा महामन्त्रीद्वयले सभापति देउवाको ध्यानाकर्षण गराएका हुन् । 

महामन्त्रीद्वयले नेविसंघ र तरुण दलको कार्यसमिति र भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरुलाई पनि दश गतेभित्र पूर्णता दिन सभापति देउवाको ध्यानाकर्षण गराएका छन् । 

जवाफमा सभापति देउवाले सल्लाह गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । 

उनीहरुले अमेरिकी एसपीपीबारे प्रतिपक्षी दलहरुलाई पनि बोलाएर छलफलसहित साझा धारणा बनाउन पनि सुझाव दिएका छन् । 

एसपीपीलाई प्रक्रिया पुर्‍याएर सरकारको तर्फबाट सधैंका लागि बन्द गर्नुपर्ने दुई महामन्त्रीको भनाइ छ । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, शेयर बजारमा देखिएको समस्या, विदेशमा रहेका प्रवासी नेपालीको मताधिकार, रेल्वे कम्पनीले अधिग्रहण गरेको जग्गाको मुआब्जा लगायतका विषयमा पनि देउवासँग कुरा भएको नेताहरुले बताएका छन् । 

पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले सरोकारवालासँग छलफल गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.