जग्गाधनीको नक्कली मृत्यु दर्ता बनाएर जग्गा बिक्री, पाँच जना प्रहरी फन्दामा

0

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विदेशमा बसेको एक व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ । 

ब्यूरोले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा दार्चुला घर भई हाल काठमाडौं टोखा–८ बस्ने महावीर चन्द, सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोठी बस्ने गणेशबहादुर खनाल, सोलुखुम्बु घर भई बुढानीलकण्ठ बस्ने बाबुराम कार्की, नुवाकोट घर भई काठमाडौं वनस्थली बस्ने प्रेमप्रसाद खनाल र काठमाडौं तारकेश्वर घर भई वनस्थली बस्ने ममता भन्ने डासीमाया श्रेष्ठलाई सार्वजनिक गरेको हो । 

उनीहरुले २०५५ सालदेखि जापान बस्दै आएको शान्तादेवी लोहनीको नाममा रहेको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा बिक्री गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुले शान्तिदेवीको मृत्यु दर्ता र उनको नक्कली श्रीमान तयार गरेर जग्गा बेचेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक श्यामकुमार महतोले जानकारी दिए । 

गएको जेठ ५ गते नेपाल आएकी शान्तिदेवीले मालपोत कार्यालयमा वायोमेट्रिक गर्न जाँदा आफ्नो जग्गा बिक्री भइसकेको थाहा पाएको प्रहरीले बताएको छ । 

पीडित शान्तीदेवीले प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीका अनुसार गिरोहले शान्तीदेवीको मृत्यु भएको भन्दै मृत्यु प्रमाणपत्र पेस गरेर उनका श्रीमान तारानिधि लोहनी भन्दै नक्कली श्रीमान बनाएर नामसारी गरेका थिए । 

नक्कली तारानिधि बनेका व्यक्तिको नामबाट २०७७ फागुन १० गते सुनिता कर्माचार्यको नाममा नामसारी भएको अनुसन्धानका क्रममा खुलेको ब्यूरोले बताएको छ । ती नक्कली तारानिधि बनेका व्यक्तिले शान्तादेवीको मृत्यु २०७७ भदौ १३ गते कालगतिले भएको र उसको हकवाला आफू श्रीमान भएको भन्दै कीर्ते कागजातहरू बनाएर २०७७ पुस १५ गते मृत्यु नामसारी गराएका थिए । 

Leave A Reply

Your email address will not be published.