काठमाडौं महानगरको नीति तथा कार्यक्रम : हरेक साता ‘जनतासँग मेयर’ कार्यक्रम (पूर्णपाठ)

0

काठमाडौं : काठमाडौं महानगरपालिकाले फोहोरको पुनः प्रयोग र प्रशोधनका लागि स्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाउने भएको छ । 

आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरले कुहिने फोहोरलाई घरमै मल बनाउन लगाउने र फोहोरमा लाग्ने शुल्कमा सहुलियत दिने घोषणा गरेको हो । 

प्रविधिमा आधारित फोहोर मैला व्यवस्थापनका लागि छुट्टै परियोजना सञ्चालन गर्ने महानगर प्रमुख बालेन्द्र साहले बताए ।

महानगरले चालिस माइक्रोन भन्दा कमको प्लास्टिक झोला निषेध गरेर जुट, कपडा वा कागजको झोला प्रयोग गर्ने घोषणा पनि गरेको छ । 

त्यस्तै निजी विद्यालयहरुले आम्दानीको केही प्रतिशत रकम महानगरलाई दिनुपर्ने भएको छ । महानगरको शिक्षा कोषमा आम्दानीको केही प्रतिशत रकम विद्यालयहरुले हाल्नुपर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको हो । 

सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ । कक्षा एक देखि आठसम्म पढाइ हुँदै आएको नेपाल भाषा कक्षालाई निरन्तरता दिने पनि महानगरले जनाएको छ ।

महानगरले महानगरभित्र सञ्चालन हुने सबै सार्वजनिक यातायातलाई एकद्वार प्रणालीमा सञ्चालन गर्ने घोषणा गरेको छ । महानगरले सबै कम्पनीहरुसँग सहकार्य गरेर यातायात एकद्वार प्रणालीमा सञ्चालन गर्ने जनाएको हो ।

महानगरले स्थानीय नेवार समुदायले उत्पादन गर्ने स्थानीय पेय पदार्थ ‘अइला’ ब्रान्डिङ गर्ने घोषणा पनि गरेको छ । महानगरपालिकाभित्र घर भाडासम्बन्धी काम अबदेखि कम्पनीमार्फत मात्रै हुने नीति पनि सार्वजनिक गरिएको छ । 

महानगरले प्रत्येक साताको आइतबार जनतासँग प्रत्यक्ष मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपत्यकाका विभिन्न जात्रा र पर्वलाई अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गर्ने लक्ष्य पनि महानगरले लिएको छ । 

बागदरबारको प्रवलीकरण गर्नेदेखि घरले नओगटेको क्षेत्रमा एक घर एक रुख अभियान सञ्चालन गर्ने घोषणा पनि महानगरले गरेको छ ।

Leave A Reply

Your email address will not be published.