अग्निपथ योजनालाई लिएर भारतमा प्रदर्शन चर्कियो

0

एजेन्सी : ‘अग्निपथ’ योजनालाई लिएर भारतमा प्रदर्शन चर्किएको छ । भारत सरकारले आफ्नो तीनवटै सैन्य अंग जल, स्थल र वायु सेनाको जवान पदमा अब चार वर्ष अवधिका लागि मात्रै भर्ना खुलाउने योजनाविरुद्ध देशभर विरोध चुलिएको हो । 

‘अग्निपथ’ नाम दिइएको यो योजनाअन्तर्गत २१ वर्ष उमेर पुगेकाले भर्ना पाउने र २५ वर्ष पुग्दा अवकाश पाउने व्यवस्था गरिएको छ । भर्ना भएकामध्ये २५ प्रतिशतले चौथो वर्षमा सेनाभित्र स्थायी जागिरको अवसर पाउने व्यवस्था गरिएको छ । 

अग्निपथ योजनाविरुद्ध तेलंगानाको सिकन्दरावादमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । देशका विभिन्न भागमा भइरहेको विरोधका कारण तीन सय भन्दा बढी रेलको आवतजावत प्रभावित भएको छ । 

तीन दिनदेखि जारी आन्दोलनमा धेरै ठाउँमा रेलवे स्टेशन र रेलमा क्षति पुगेको छ । तेलंगाना, बिहार र उत्तर प्रदेशमा प्रदर्शनकारीले रेलमा आगजनी गरेका छन् । प्रदर्शन तीव्र भएपछि सरकारले विहारका १२ जिल्लामा इन्टरनेट, फोन, मोबाइल सेवा बन्द गरेको छ । आगामी ४८ घण्टाका लागि इन्टरनेट र टेलिकम सेवा बन्द गरिएका हुन् । 

कैमुर, भोजपुर, औरंगाबाद, रोहतास, बक्सर, नवादा, पश्चिम चम्पारण, समस्तीपुर, लखीसराय, बेगुसराय, वैशाली र सारणमा फोन र इन्टरनेट बन्द गरिएको हो । 

रक्षामन्त्री राजनाथ सिंहले योजनाबारे समीक्षा बैठक बोलाएका छन् । बैठकमा वायुसेना प्रमुख, नौसेना प्रमुख लगायत सहभागी हुनेछन् ।

Leave A Reply

Your email address will not be published.