भक्ति संगीतमा गायक शिशिर योगीको आगमन (भिडियोसहित)

0

काठमाडौँ  (जीएनएन) : लोकप्रिय गायक शिशिर योगीले भक्ति सङ्गीतमा पनि कदम अगाडि  बढाएका छन् । राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मार्मिक गीत गाउँदै आएका शिशिरले भक्तिधारा अन्तर्गत पनि वैदिक मन्त्र गायनमा आफ्नो कदम अगाडि  बढाएका हुन् । प्रायः भारतीय कलाकारका स्वरमा भजन र मन्त्र सुन्न अभ्यस्त नेपाली श्रोता दर्शकलाई शिशिरको स्वरले नेपालीपनको मिठास दिने छ ।

भक्ति सङ्गीतको यस चरणमा गणेश मन्त्र, गायत्री मन्त्र, शनि मन्त्र र शनिको बीज मन्त्र गरी चारओटा तयार भएका छन् । उच्चकोटिको सङ्गीत, खारिएको आवाज र श्रुतिमधुर शब्दले श्रोतालाई आनन्दको सागरमा डुबाउँछन् । शिशिर यी सबै मन्त्रमा एक किसिमको जादू भर्न सफल भएका छन् । गणेश मन्त्रमा मौलिक सङ्गीतको स्वरूप छ । हुन त हामीले ‘ॐ गं  गणपतेय नमो नम:’ लाई भारतीय कलाकारको आवाजमा धेरै पल्ट सुनिसकेका छौँ । शिशिरले यसमा हृदयको आवाज निकालेर नेपाली मिठास भरेर गाउने कोसिस गरी हृदयस्पर्शी गायन प्रस्तुत गरेका छन् । करुणरसको  प्रयोगले यसमा थप स्वाद दिएको छ ।

‘निलांजन समाभासम्..’ बोलको शनि मन्त्रमा भक्ति र करुण रसको संयोजन भएको छ । शनिको बीज मन्त्रमा भने भक्ति, करुण र वीर रसको त्रिवेणी पाइन्छ । साथै गायत्री मन्त्रलाई पनि निकै मिहिनेत गरेर सुललित आवाजमा पस्किएका छन् ।

सबै मन्त्रमा शिशिरले सङ्गीत भरेका छन् भने उनलाई आवाजमा सलिना बिक  र उनकै सुपुत्री श्रुति योगीले साथ दिएका छन् । यी मन्त्रमा सङ्गीत संयोजनमा पनि बढी मिहिनेत गरेको देखिन्छ । नोर्बु शेर्पाले सबै मन्त्रमा सङ्गीत संयोजन गरेका छन् । ध्वनि सम्पादनको काम प्रकाश मिश्रले गरेका हुन् भने दृश्य सम्पादन वीरेन्द्र भाट ‘विपीन’ ले गरेका छन् । रेकर्डिस्टका रुपमा अजय कार्की रहेका छन् । शिशिरको यस पालिको कर्म पृथक देखिन्छ । उनले तन,मन, बुद्धि र वर्कतको प्रयोग गरी नयाँ मार्गमा लाग्न ठूलो परिश्रम गरेका छन् । । यी मन्त्रहरू शिशिर योगीको अफिसियल युट्युब च्यानल https://www.youtube.com/shishiryogi  बाट मङ्गलबार (१४ जुन) बिहान ८ बजेदेखि  प्रसारण शुरु गरिएको  छ  ।

Leave A Reply

Your email address will not be published.