आईसीसीले हटायो क्यानमाथिको सबै प्रतिबन्ध

0

काठमाडौं : विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आईसीसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको जनाएको हो । आईसीसीले निलम्बनसँगै क्यानलाई कन्ट्रोल फन्डिङमा राखेको थियो ।

यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि आईसीसीले क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो । तर त्यसबेला आईसीसीले क्यानलाई ‘कन्ट्रोल फन्डिङ’ फुकुवा भने गरेको थिएन ।

विगतमा क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै २०७३ वैशाखमा प्रतिवन्ध लगाएको थियो । प्रतिबन्धमा परे पनि त्यतिबेला आईसीसीले नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यवस्थापन गरेको थियो ।

२०७२ साल मंसिरमा क्यानको निर्वाचनले चतुरबहादुर चन्दलाई नै अध्यक्षका रुपमा निर्वाचित गरेपछि विवाद शुरु भएको थियो । पुषमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यान पूनर्गठन गरेपछि विवादले नयाँ रुप लिएको थियो । निर्वाचत समिति अदालत गएपछि क्यानको दोहोरो अस्तित्व देखिएको थियो । नेपालको अन्तरिक विवादकाबीच आईसीसीले २०७३ वैशाखमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि आईसीसीले सल्लाहकार समितिमार्फत क्यानको विधान तयार पारेको थियो । उक्त विधानलाई पास गर्न क्यानको विशेष साधारण सभा दुई पटकसम्म बसेको थियो । नयाँ विधान अनुसार ५ सदस्यीय स्वतन्त्र समिति बनाउँदै आईसीसीले क्यान निर्वाचनको वातावरण तयार पारेको थियो । जिल्ला, प्रदेश हुँदै असोज ११ गते क्यानको केन्द्रको निर्वाचन पछि निलम्बन फुकुवाको सम्भावना बढेको थियो । पूर्ण रुपमा फुकुवा नहुँदा क्यान आईसीसीमा निर्भर रहँदै आएको थियो ।

निलम्बन फुकुवादेखि कार्यसमितिको उत्कृष्ट कार्यसम्पादनको मुल्यांकन गर्दै आईसीसीले ‘कन्ट्रोल फन्डिङ’ हटाएको क्यानले जनाएको छ । २०७६ असोजमा नयाँ कार्यसमिति आएलगत्तै आईसीसीले आंशिक प्रतिवन्ध फुकुवा गर्दै केही सर्तहरु राखेको थियो । ती सर्तहरु पूरा भएपछि आईसीसीले जेठ ३० गते पत्र पठाउँदै निलम्बन पूर्णरुपमा फुकुवा गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘कन्ट्रोल फन्डिङ’ पूर्णरुपमा हटेसँगै नेपालले अबदेखि एकदिवसीय मान्यताप्राप्त अन्य एसोसियट देशहरुसरह आर्थिक अनुदान र गतिविधि गर्न पाउने भएको छ । कन्ट्रोल फन्डिङ फुकुवासँगै क्यानमाथिको आईसीसीको सबै प्रतिबन्ध हटेको छ ।

Leave A Reply

Your email address will not be published.