हरित मानवीय जीवनको विकास गर्नु चुनौतीपूर्ण : राष्ट्रपति भण्डारी

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्व वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको बताएकी छिन् । 

विश्व वातावरण दिवसको अबसरमा शुभकामना सन्देश दिँदै उनले पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको बताएकी हुन् । 

प्राकृतिक स्रोतको दिगो उपभोगका लागि जीवनशैलीमा परिवर्तन ल्याई स्वच्छ र हरित मानवीय जीवन पद्दतिको विकास गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गरेका छन् । 

विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवं प्रभाव बढेको बताएका हुन् । 

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनवाट नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश र गरिब तथा सिमान्तकृत समुदाय बढीमात्रामा प्रभावित भइरहेका उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.