देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

0

काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धुमधामका साथ सम्पन्न भएको छ । विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित रहेको जात्रा कोरोनाको त्रास कम भएसँगै यस वर्ष भव्यताको साथ समापन गरिएको हो ।

गत वैशाख २१ गतेदेखि शुरु भएको रथ जात्रा शनिबार भोटो देखाएसँगै यस वर्षको लागि जात्रा सकिएको हो । 

लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिनको दिन भोटो देखाउने परम्पराअनुसार शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा लतिपुर जिल्ला गुठीका प्रमुख हरिप्रसाद सुवेदीले भोटो देखाएका हुन् । भोटोको अवलोकनसँगै राष्ट्रपति भण्डारीले कुमारीको हातबाट प्रसाद ग्रहण गरिन् । 

उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा मात्रै नभई काठमाडौँ उपत्यकावासीकै सहभागितामा धुमधामका साथ मनाइँदै आएको छ । 

विगत दुई वर्ष कोभिड–१९ का कारणले जात्रा नियमितरूपमा सञ्चालन हुन नसकेकामा यस वर्ष उत्साहका साथ रथयात्रा सम्पन्न भएको गुठीका प्रमुख सुवेदीले बताए । स्थानीयवासी हर्षित र उत्साहितरूपमा नै सहभागी रहेको सुवेदीले बताए ।

ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीका अनुसार जावलाखेलको जात्रालाई सात गाउँको जात्रासमेत भन्ने गरिएको छ । भोटो देखाउने काम सकिएसँगै  देवतालाई बुङ्मती लगिएको छ । देवता वर्षमा झण्डै आधा–आधा समय पाटन र बुङ्मती रहने गर्छन् । जात्रा समापन भयसँगै उक्त ऐतिहासिक भोटोलाई बुङ्मतीमा सुरक्षा घेरा दिएर राखिने पनि प्रमुख सुवेदीले बताए ।

Leave A Reply

Your email address will not be published.