जनप्रतिनिधिलाई दुईदिने प्रशिक्षण दिँदै माओवादी केन्द्र

0

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले गएकाे वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई पालिकाबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले बुधबारदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । 

काठमाडौंमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट,  कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् ।

पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका प्रमुख एवम् सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ । अघिल्लो कार्यकालमा उत्कष्ट काम गरेका पालिकाका प्रमुखले पनि अनुभव आदान–प्रदान गर्ने कार्यक्रम राखिएको छ।

प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २ सय ६० जनप्रतिनिधि र पार्टीका शीर्षनेता एवम् पूर्वस्थायी समिति सदस्य सहभागी हुने माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

उद्घाटनसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनेछन् । पहिलो दिन पूर्वमहान्याधिवक्ता मुक्ति प्रधान, स्कुल विभाग प्रमुख एवम् पूर्वमन्त्री गिरिराजमणि पोखरेल, सङ्घीयता विज्ञ डा. खिमलाल देवकोटा, पालिका विभागका प्रमुख उर्मिला अर्याल र पूर्वमुख्यसचिव लीलामणि पौड्यालले प्रशिक्षण दिने कार्यक्रम छ । 

पालिकाका पदाधिकारी अहिले नीति कार्यक्रम र बजेट निर्माणको तयारीमा छन् । आउँदाे असार १० गतेभित्र पालिकाले आउँदाे आवका लागि बजेट प्रस्तुत गर्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.