स्थानीय निर्वाचन : ४ पालिकाको मात्र नतिजा आउन बाँकी

0

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय ४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।

अहिलेसम्म घोषित परिणाम अनुसार नेपाली कांग्रेस ३ सय २७ प्रमुख तथा अध्यक्ष र ३ सय उपप्रमुख तथा उपाध्यक्ष जितेर पहिलो नम्बरमा छ ।

दोस्रो स्थानको नेकपा एमालेले २ सय पाँच प्रमुख तथा अध्यक्ष र २ सय ३७ उपप्रमुख तथा उपाध्यक्ष जितेको छ ।

तेस्रो स्थानको माओवादीले १ सय २१ प्रमुख तथा अध्यक्ष र १ सय २६ उपप्रमुख तथा उपाध्यक्ष जितेको छ ।

अब आउन बाँकी रहेको पालिकामा प्रदेश एकको उदयपुरको त्रियुगा नगरपालिका कांग्रेस अगाडि छ ।

यस्तै बागमती प्रदेशको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् । लुम्बिनीबाट रूपन्देहीको तिलोत्तमा नगरप्रमुखमा पनि कांग्रेस अगाडि छ ।

सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ। यहाँ विवादका कारण अझै मतगणना शुरू हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.