बेल्जियमबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारीलाई एनआरएनए बेल्जियमको सम्मान

0

सनत आचार्य ,बेल्जियम ,

गैर आबासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले बेल्जियमबाट प्रतिनिधित्व गरेर केन्द्रीय समीतिमा निर्बाचित हुनु भएका पदाधिकारीहरुलाई सम्मान गरेकोछ । सोमबार लुभेनमा भएको कार्यक्रममा संघका केन्द्रीय सचिब गंगाधर गौतम, कोषाध्यक्ष लोक दाहाल, युरोप उपसंयोजक चित्र सुबेदी, युरोप युबा सह संयोजक दिपक न्यौपाने र केन्द्रीय सदस्य रोशन जोशी (भिम) लाई समान गरिएको हो ।


सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका नबनिर्बाचित केन्द्रीय सचिब गंगाधर गौतमले नागरिकताको सवाल एनआरएनएले नै उठाएको र अझै पनि वंशजको आधारमा २-३ पुस्तालाई नागरिकता दिन नेपाल सरकारसँग निरन्तर आवाज उठाइरहेको बताउनुभयो ।

सचिव गौतमले प्रवासी नेपालीहरूको पुँजी र प्रविधि नेपालमा प्रयोग भइरहेको बताउँदै नेपालको समग्र विकासका लागि प्रवासबाट अझै बढी लगानी कसरी गर्न सकिन्छ भन्ने विभिन्न कोणबाट हेरिरहेको बताउनुभयो । गौतमले आफूले आशिंक रूपमा सचिव पद स्विकार गरेको बताउँदै पन्ध्र महिनापछि वैधानिक रूपले महाधिवेशन गर्ने जानकारी दिनुभयो । उहाँले एनआरएनएले युवा र महिलाहरूलाई समेटेर लान सक्नुपर्ने सुझाव पनि दिनुभयो ।

कोषाध्यक्ष लोकप्रसाद दाहालले आफुहरूले नेपाल र नेपालीहरुको विकासका लागि विभिन्न कोष बनाएको जानकारी दिँदै प्रवासमा रहेका नेपालीहरूले आफ्नो परिचयपत्रका आधारमा डलर खाता खोल्न सक्ने बताउनुभयो ।

दाहालले एनआरएनए धनाढ्यहरूको संस्था नभइ धनी संस्थाको रूपमा विकास गर्न प्रयत्नशील रहेको जानकारी दिनुभयो । दाहालले एनआरएनए बेल्जियमले नेपाली कला संस्कृति झल्कने नेपाल हाउस निर्माणको योजना प्रशंसनीय भएको पनि जिकिर गर्नुभयो ।

क्षेत्रीय युवा सह-संयोजक युरोप दीपक न्यौपानेले संघले आफूहरूलाई विश्वास गरेको गरेको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताउँदै संघलाई आवश्यक कुनै पनि सहयोग गर्न आफूहरू तयार रहेको जानकारी दिनुभयो ।

सह-संयोजक न्यौपानेले संघमा युवाहरूको आकर्षणलाई बढाउन युवामैत्री नीति तथा कार्यक्रम बताउन आवश्यक रहेको र आफूले त्यसका लागि पहल गर्ने जानकारी दिनुभयो ।

संघका युरोप उप-संयोजक चित्र सुवेदीले केन्द्रका कारण प्रवासमा बस्ने नेपालीहरूमा नैरास्यता आएको बताउदै एनआरएन प्रवासमा रहेका नेपालीहरूको साझा संस्था भएकोले आफुहरू सोहीअनुसार काम गर्ने बताउनुभयो ।

आईसीसी सदस्य रोशन जोशीले आफुहरूले प्रवासी नेपाली र सदस्यहरूको भावनाअनुसार काम गर्न पछि नपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले प्रवासमा बसेका नेपालीहरुका लागि नभइनहुने दुई दशक लामो इतिहास बोकेको र संरचना पनि संसारभरी भएको एनआरएनए अहिले गम्भीर अवस्था पुगेको चित्रण गर्दै निहीत स्वार्थका लागि संघमा हुने गरेका विकृतिहरूलाई बन्द गर्न कमी कमजोरीहरूलाई सच्याएर अघि बढ्न सुझाव दिनुभयो ।

नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष प्रकाशले गैरआवासीय नेपाली संघले प्रवासमा रहेका नेपालीहरूको दोहोरो नागरिकताको प्रवाधानलाई निरन्तरता दिनुपर्ने कार्ययथावत राख्न पहल गर्नुपर्ने बताउँदै केन्द्रमा २ वटा एनआरएनए हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

अन्तरर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले ८० लाख प्रवासी नेपालीहरूको ढुकढुकी बोकेको एनआरएनएमा विवाद हुनु सबैका लागि नराम्रो भएको औल्याउँदै आफुहरुले राष्ट्रपतिले उद्घाटन र प्रधानमन्त्रीले समापन गरेको संस्था नै आधिकारिक भएको बुझेको तर्क दिनुभयो ।

सभापतिको आसनबाट बोल्दै गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले निर्वाचित पदाधिकारीहरुलाई बधाई र शुभकामना दिँदै बेल्जियमबाट निर्वाचित पदाधिकारीहरूबाट प्रवासी समाजले धेरै कुरा अपेक्षा गरेको बताउँदै आफुहरू केन्द्रसँग सहकार्य गर्न उत्साहित रहेको बताउनुभयो । अध्यक्ष केसीले एनआरएनए अभियानलाई एकिकृत गरेर अघि बढाउन सुझाव दिनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमका सल्लाहकार कृष्ण तिवारी, लेखा समिति संयोजक खिम गुरुङले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो भने उपाध्यक्ष तीर्थराज धमलाले स्वागत मन्तव्यका साथै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रम संचालन महासचिव रमेश कँडेलले गर्नुभएको थियो भने निर्वाचित पदाधिकारीहरूलाई रुविना शर्मा र लक्ष्मी सुवेदीले खादा लगाएर सम्मान गर्नुभएको थियो ।

बेल्जियमबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी सात जना हुनु हुन्छ । केन्द्रीय प्रबक्ता शिव बरुवाल बेल्जियम बाहिर हुनु भएकोले र युरोप महिला संयोजक योगिता थापा र आईसीसी सदस्य गङ्गा शर्मा अन्य कारणले कार्यक्रममा उपस्थित हुन नसकेको एनआरएनए बेल्जियमले जनाएकोछ ।

कार्यक्रममा एनआरएनए बेल्जियममा मनोनित हुनु भएका सल्लाहकार, मानार्थ परिषद सदस्यहरु र बिज्ञ समितिका सदस्यहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.