मतगणना अन्तिम चरणमा, १७ पालिकाको नतिजा आउन बाँकी

0

काठमाडौं : स्थानीय तह निर्वाचनको पाँच महानगरपालिकासहित १७ पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । 

मंगलबार बिहानसम्म दुई महानगर, १० उपमहानगरसहित ७३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना विवादका कारण शुरु हुन सकेको छैन । अहिलेसम्म प्रदेश–१ मा उदयपुरका दुई वटा पालिका, मधेश प्रदेशका रौतहटका चार, सिराहा, बारा र पर्साका एकएक पालिकाको अन्तिम नतिजा आउन बाँकी छ । 

त्यस्तै, बागमती प्रदेशमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ । गण्डकीमा पोखरा महानगरपालिका, लुम्बिनीमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको आयोगले जनाएको छ । 

कपिलवस्तुमा महाराजगन्ज नगरपालिका र दाङबाट तुलसीपुर उपमहानगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।

सार्वजनिक मत परिणामअनुसार अहिलेसम्म कांग्रेसले सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । उसले ३ सय २२ स्थानीय तह जितेको छ ।

दोस्रोमा रहेको एमालेले दुई सय दुई, माओवादी केन्द्रले १ सय २० जितेका छन् । 

अन्यतर्फ ३०, जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादी पार्टी १८ र लोकतान्त्रिक समाजवादी पार्टीले १६ स्थानीय प्रमुख जितेका छन् ।

Leave A Reply

Your email address will not be published.