१० सुरक्षाकर्मीसहित २९ को ज्यान गयो : गृहमन्त्री

0

काठमाडौँ, २० भदौ । सीमाङ्कनप्रति विरोध जनाउँदै देशका विभिन्न भागमा यसबीचमा भएका हिंसात्मक घटनामा १० सुरक्षाकर्मीसहित २९ जनाको मृत्यु भएको सरकारले जनाएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा मुलुकको शान्ति सुरक्षा र तराई–मधेसको स्थितिबारे सदनलाई जानकारी गराउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले सुरक्षा कारबाहीमा १७ र बाटो हिँडेका दुई आन्दोलनकारी आक्रमणमा परी मारिएका बताउनुभयो ।
दुईवर्षे दूधे बालकलाई गोली हानेर मार्नेदेखि सुरक्षाकर्मीलाई ज्यूँदै आगो लगाएर मार्नेसम्मका नेपालको इतिहासमा आजसम्म नभएका बर्बर एवम् अति अमानवीय आक्रमण भएका र त्यसको जति निन्दा गरे पनि कम हुने गृहमन्त्रीले बताउनुभयो ।
सुदूरपश्चिम, मध्यपश्चिम, मध्यमाञ्चल र पूर्वाञ्चलका तराई क्षेत्रका विभिन्न भागका साथै जुम्ला, कैलालीको टीकापुर, बर्दिया, रौतहट, बारा, पर्सा, सप्तरीलगायत धेरै स्थानमा आन्दोलन शान्तिपूर्ण भए पनि केही स्थानमा अराजक र हिंसात्मक घटना भएको उहाँले बताउनुभयो ।
उहाँले सरकारी तथा सार्वजनिक सम्पत्ति तोडफोड र प्रहरी चौकीमा आक्रमण गर्ने, सरकारी कार्यालय, व्यक्ति र संस्थाका सवारी साधनमा आगजनीलगायत हिंसात्मक गतिविधि हुन नदिन सुरक्षाकर्मीले बारम्बार सम्बद्ध पक्षलाई आग्रह गर्दा पनि भीड नियन्त्रण हुन नसक्दा बाध्य भई गोली चलाउनुपरेको स्पष्ट पार्नुभयो ।
निषेधाज्ञा तोड्ने, प्रहरीलाई गोली हान्नेजस्ता गतिविधि बढेपछि शान्ति, सुव्यवस्था कायम गर्न प्रहरीले बाध्यात्मक परिस्थितिमा आत्मरक्षा तथा जनताको जीउधनको सुरक्षाका लागि कारबाही गर्नुपरेको उहाँले प्रष्ट गर्नुभयो ।
आन्दोलन अत्यन्त अराजक र हिंसात्मक बन्दै गएको र त्यस्ता गतिविधि हुन नदिन सरकार दृढ रहेको बताउँदै उहाँले शान्तिपूर्ण आन्दोलनबाट विमुख नहुन अनुरोध गर्नुभयो । अहिलेको समस्या राजनीतिक भएकाले त्यसको समाधान पनि राजनीतिक रुपमा नै गर्नुपर्छ भन्ने मान्यता सरकारको रहेको स्पष्ट गर्दै उहाँले सङ्घीयताका नाममा मुलुक दलदलमा फस्न लागेको हो कि भन्ने चिन्ता जनतामा परेको बताउनुभयो ।
हज व्यवस्थानपबारे जानकारी
हज गर्न साउदी अरबको मक्का जान चाहने नेपाली मुसलमानलाई हज कमिटीमार्फत यात्राको व्यवस्था गरिएको र उक्त मुलुकले नेपालका निम्ति एक हजार कोटा तोकेको खबर पठाएकाले जान चाहने सबैलाई समेट्न कठिन भएको बताउनुभयो ।
नेपालका लागि साउदी अरबका राजदूतलाई घटीमा दुई हजार यात्रीलाई यात्राको व्यवस्था मिलाइदिन आग्रह गरेको तथा पराष्ट्रमन्त्रीलाई पनि आफूले विगतमा झैँ हाजीलाई सहज ढङ्गले मक्का पठाउने व्यवस्थाका लागि अनुरोध गरेको जानकारी पनि गृहमन्त्री गौतमले दिनुभयो ।

सुक्खा क्षेत्रमा ट्युबवेल जडान
कृषि विकास मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका मन्त्री गौतमले तराईका सुक्खाग्रस्त क्षेत्रमा एक हजार चार सय स्यालो ट्युबवेल र १४ वटा डिप ट्युबवेलको जडान गर्ने निर्णय भइसकेको तर बन्द, हडतालका कारण त्यो पूरा भइनसकेको भन्दै बन्द खुल्नेबित्तिकै आवश्यक व्यवस्था गरिने जानकारी दिनुभयो ।
धान उत्पादन गर्ने १३ जिल्लामा एक गाविस एक प्राविधिकको व्यवस्था गर्न निर्देशन दिइएको तथा पहाडी क्षेत्रमा भूकम्पबाट क्षति भएका सिँचाइका संरचनाको वैकल्पिक प्रबन्ध गरिएको, भूकम्पबाट अति प्रभावित २४ जिल्लामा बीउ, बेर्ना, औजारलगायत सामग्री उपलब्ध गराएर विशेष कार्यक्रम सञ्चालनको व्यवस्था मिलाइएको जानकारी पनि उहाँले दिनुभयो ।
साल्ट ट्रेडिङ लिमिटेड र अन्य निकायबाट दुई लाख ७० हजार मेट्रिक टन रासायनिक मल आपूर्तिको प्रबन्ध भएको तथा हाल मुलुकमा २३ हजार मेट्रिक टन मल मौज्दात रहेको बताउँदै उहाँले प्रहरी सुरक्षाका साथ सम्बन्धित जिल्लामा ढुवानीको प्रबन्ध गरिएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.