काठमाडौ, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले पार्टीको अध्यक्षमा लोकेन्द्रबहादुर चन्दलाई नयाँ पार्टी अध्यक्ष चयन गरेको दावी गरेका छन् । दुई तिहाई सदस्यहरूको हस्ताक्षरसहित नयाँ अध्यक्ष चयनको निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराइएको पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिएका छन् । पार्टीका ६० प्रतिशत केन्द्रीय सदस्यको निर्णयअनुसार नै चन्दलाई नयाँ पार्टी अध्यक्ष घोषणा गरिएको उनको भनाई छ ।
लोकेन्द्रबहादुर चन्दको नेतृत्वलाई प्रकाशचन्द्र लोहनी, सुनिलबहादुर थापा, नवराज सुवेदी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र परशुराम खापुङसहितले समर्थन जनाएका छन् । चन्दलाई समर्थन गर्नेहरू सूर्यबहादुर थापा पक्षका नेताहरू रहेको बुझिएको छ ।