मतदाताको अधिकारप्रति सचेत गराउन प्रमुख आयुक्त थपलियाको आग्रह

0

काठमाडाैं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यम निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल भएकाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गरेका छन् ।

स्थानीय तह निर्वाचनका सन्दर्भमा आफ्ना सदस्य रेडियोहरुका लागि सामुदायिक रेडियो प्रसारक संघ (एओर्याब) ले तयार गरेको आचारसंहिता जारी गर्न आयोजित कार्यक्रममा उनले सार्वभौम जनताले आफ्नो जनप्रतिनिधि रोजेर शासनसत्तालाई वैधता दिने विधिका रुपमा रहेको निर्वाचन र निर्वाचनका समयमा सञ्चारमाध्यम राजनीतिक सञ्चार प्रवाह गर्ने सही मञ्च भएको बताएका हुन् ।

प्रमुख आयुक्त थपलियाले नागरिकको प्रतिनिधि छान्न पाउने अधिकारप्रति सचेत गराउँदै कतव्र्यबोध गराउन सञ्चारमाध्यम महत्वपूर्ण सारथी भएकाले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता र सञ्चार क्षेत्रका आचारसंहिताको सही पालना हुने विश्वास व्यक्त गरे । 

प्रमुख आयुक्त थपलियाले आचारसंहिताको पालना गरेर नेपालका सबै निर्वाचनलाई व्यवस्थित, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिन आग्रह गर्दै आचारसंहितालाई छाताको रुपमा चित्रण गरे । 

प्रमुख आयुक्त थपलियाले नेपालको लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार र निर्वाचनका लागि नेपाली प्रेसले वकालत गर्दै रुपान्तरणको साक्षी बनेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै खुल्ला र सम्मुनत समाज निर्माणका लागि कलम र आवाज बोक्ने सञ्चार जगतले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन पनि उत्तिकै भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.