स्थानीय निर्वाचन : प्रचार प्रसारमा जुटे उम्मेदवार

0

काठमाडौं : स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले शनिवार चुनाव चिन्ह पाएका छन् । चुनाव चिन्ह पाएपछि आइतबारबाट उम्मेदवारहरु चुनावी प्रचारमा जुटेका छन् । कतिपयले शनिबारबाटै चुनावी प्रचार शुरु गरिसकेका छन् । 

चुनाव चिन्ह पाएपछि निर्वाचन प्रचारप्रसारको समय शुरु भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । उनका अनुसार उम्मेदवारले निर्वाचन प्रचारका लागि ११ दिनको समय पाउने छन् । 

३० गते मतदान हुने भएपनि मौन अवधि २७ गते मध्य रातिबाट लागू हुनेछ । चुनावी प्रचारमा उम्मेदवार र राजनीतिक दलका नेता/कार्यकर्तासँगसँगै सबैले ख्याल गर्नुपर्ने निर्वाचन आयोगले प्रष्ट पारेको छ । 

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारको पक्ष वा विपक्षमा सार्वजनिक सम्पत्ति प्रयोग गर्न पाइँदैन । निर्वाचनसँग सम्बन्धित सूचनालाई बिगार्न, शैक्षिक संस्थामा निर्वाचन सम्बन्धी भेला र  प्रचार गर्न बन्देज लगाइएको छ । 

राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेस्ट, टी–सर्ट, टोपी, गम्छा, मास्क, लकेट वा अन्य कुनै पहिरन तथा स्केच बनाउन पाइने छैन । राजनीतिक दल वा उम्मेदवारले १८ वर्षमुनिका बालबालिकालाई प्रचारमा सामेल गर्न पाउने छैनन् । मतदान भएर मतपरिणाम घोषणा नभएसम्म मत सर्वेक्षण गर्न पनि पाइने छैन । 

यससँगै निर्वाचनलाई प्रभावित पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा पनि प्रचारप्रसार गर्न समेत रोक लगाइएको छ । 

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारका पदाधिकारीले पनि कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । निर्वाचन आयोगको स्वीकृति नलिई कर्मचारी सरुवा, बढुवा र नियुक्ति गर्न रोक लगाइएको छ ।

Leave A Reply

Your email address will not be published.