नेपालीको प्रतिव्यक्ति आय १ हजार ३७२ डलर

0

काठमाडौं : केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । 

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । 

आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रिय लेखा तथ्यांक प्रश्तुत गर्दै राष्ट्रिय तथ्यांक विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बजार मूल्यमा अहिलेको राष्ट्रिय लेखा अनुमानमा आर्थिक वृद्धिदर ५.८ प्रतिशतले हुने प्रारम्भिक अनुमान गरेको बताए । 

उनले कृषि क्षेत्रमा अहिलेको नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत र गैर कृषि क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत रहेको बताए । विभागले अनुमान गरेको आर्थिक वृद्धिदर एक दशकको औसत वृद्धिभन्दा बढी हो । बितेको दशकमा औसत ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको थियो ।

निर्देशक अधिकारीका अनुसार नेपालीको वार्षिक आम्दानीमा पनि वृद्धि भएको छ । यो वर्ष नेपालीको वार्षिक आम्दानी बढेर १३ सय ७२ डलर पुगेको निर्देशक भण्डारीले बताए । 

चालु आर्थिक वर्षको अर्थतन्त्र विस्तारसम्बन्धी विवरणमा प्रतिव्यक्ति आय बढेको उल्लेख छ । गत वर्ष प्रतिव्यक्ति आय ११९१ डलर थियो । गत वर्षको तुलनामा यो वर्ष नेपालीको आम्दानी १८१ डलर बढेको छ ।

त्यस्तै, नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष जीडीपीको आकार ३ खर्ब ७२ अर्ब २७ करोड रुपैयाँले बढेको छ । 

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष ३७ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ थियो । 

चालु आर्थिक वर्षमा अध्यादेश बजेटले साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेकोमा वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत ७ प्रतिशत वृद्धि हुने लक्ष्य राखेको थियो ।

Leave A Reply

Your email address will not be published.