स्थानीय चुनाव : आयोगले उम्मेदवारको नामावली प्रकाशित गर्दै, शनिबार निर्वाचन चिह्न प्रदान गरिने

0

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिने भएको छ ।

१२ र १३ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा बिहीबार साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ ।

१६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली शुक्रबार नै प्रकाशन हुनेछ ।

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै निर्वाचन आयोगले हालसम्म छपाई भएका मतपत्र २२ जिल्लामा पठाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड भई वैशाख १३ र १४ गते नौ जिल्ला गरी २२ जिल्लामा ३४ लाखप्रति मतपत्र पठाइएको छ ।

बिहीबार सुदूरपश्चिम प्रदेशका कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको हो । ती मतपत्र केही दिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ ।

वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी १३ जिल्लामा मतपत्र पठाइएको थियो ।

बुधबारसम्म एक करोड ८७ लाख अर्थात ८८ प्रतिशत मतपत्र छपाई सम्पन्न भइसकेको छ ।

निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । आयोगले यसअघि निर्वाचन सामग्रीको ढुवानी गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.