स्थानीय निर्वाचन : उम्मेदवारी दर्ता गराउनेको संख्या कति ?

0

काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नेको संख्या एक लाख नाघेको छ । आइतबार र सोमबार दुई दिन भएको उम्मेदवारी दर्तामा एक लाख बढीले उम्मेदवारी दिएका हुन् ।

स्थानीय तह निर्वाचनका लागि १ लाख ३६ हजार २ सय ३९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । ७ सय ५३ वटा स्थानीय तहमा निर्वाचित हुनुपर्ने पद संख्या भने ३५ हजार २ सय २१ हो । तर, झण्डै तेब्बर बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा २४ हजार १ सय ४३ जनाले मनोनयन दर्ता गराएका छन् । यसपछि प्रदेश १ मा १८ हजार ४९९ जना, लुम्बिनी प्रदेशमा १७ हजार ७ सय २० जना, बाग्मती प्रदेशमा १७ हजार २ सय २५ जना, सुदूरपश्चिम प्रदेशमा ९ हजार २० जना, कर्णाली प्रदेशमा ८ हजार ९ सय ८४ जना र गण्डकी प्रदेशमा ८ हजार ५ सय ३२ जनाले मनोनयन दर्ता गराएका छन् । प्रमुख पदमा मधेस प्रदेशमा १ हजार ५ जना र सर्वाधिक कम कर्णाली प्रदेशमा १ सय ५९ जनाले मनोनयन दर्ता गराएका छन् ।

उपप्रमुखमा पनि सर्वाधिक मधेस प्रदेशमै ४ सय ९५ जना र सर्वाधिक कम गण्डकी प्रदेशमा १ सय १५ जना, अध्यक्षमा सर्वाधिक ७ य ५४ जनाले मधेस प्रदेशमै र सर्वाधिक कम सुदूरपश्चिम प्रदेशमा २ सय २४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

उपाध्यक्षमा पनि मधेस प्रदेशमै बढी उम्मेदवारी परेको छ । त्यहाँ ३ सय ८३ जनाले उपाध्यक्षका लागि उम्मेदवारी दिँदा सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १ सय ७३ जनाले उम्मेदवारी दिएका छन् ।

यसरी नै वडा सदस्य पदमा सर्वाधिक ३६ हजार ४ सय ८८ जनाले मनोनयन दर्ता गराएका छन् । वडा अध्यक्षमा २५ हजार ६४ जना, महिला सदस्यमा १७ हजार ४ सय ६७ जना र दलित महिला सदस्य १५ हजार ६ सय ९७ जनाले मनोनयन दर्ता गराएका छन् ।

Leave A Reply

Your email address will not be published.