६ महानगरमा गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारबीच भिडन्त, को-को छन् उम्मेदवार

0

काठमाडौं : स्थानीय निर्वाचनका लागि सोमबार देशभर मनोनयन दर्ता सकिएकोे छ। स्थानीय तहको निर्वाचन अन्तर्गत ६ महानगरमा मुख्य दलले उम्मेदवारी दर्ता गरेका छन् । 

सत्ता गठबन्धनबाट काठमाडौं महानगरको प्रमुखमा सिर्जना सिंह र उपप्रमुखमा रामेश्वर श्रेष्ठको मनोनयन दर्ता भएको छ । त्यस्तै प्रमुख प्रतिपक्षी दल एमालेले पूराना अनुहार केशव स्थापितलाई प्रमुखमा अघि सारेको छ भने उपप्रमुखमा सुनिता डंगोलले उप्रमुखमा उम्मेदवारी दिइन् ।

त्यसैगरी ललितपुरमा सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा बाबुराजा महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट हरिकृष्ण व्यञ्जनकार र उपप्रमखमा मञ्जली शाक्य बज्राचार्यले उम्मेदवारी दिएका छन् । व्यञ्जनकार यस अघिको स्थानीय निर्वाचनमा चिरीबाबु महर्जनसंग पराजित भएका उम्मेदवार हुन् ।

त्यस्तै देशकै चर्चित महानगर भरतपुर महानगरमा रेनु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । भरतपुरमा गठबन्धनको सहमति विपरीत कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् । प्रतिष्ठाको रुपमा हेरिएको भरतपुरमा एमालेले विजय सुवेदीलाई प्रमुख र उपप्रमुखमा राप्रपाले हिमाली गुरुङको मनोनयन दर्ता गरेको छन् ।

त्यस्तै पोखरा महानगरमा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटले उम्मेदवारी दिएका छन् ।, पोखरा महानगरमा पनि गठबन्धनको सहमति विपरीत कांग्रेसका ऋषि सापकोटाले बागी उम्मेदवारी दर्ता गरेका छन् । उता एमालेबाट पोखरा महानगर प्रमुखमा कृष्ण थापा र उपप्रमुखमा मन्जु गुरुङको मनोनयन भएको छ।

वीरगञ्जमा सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा जनता समाजवादीका राजेशमान सिंह र उपप्रमुखमा इम्तियाज आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी एमालेबाट वीरगञ्ज महानगरको प्रमुखमा विजय सरावगी र उपप्रमुखमा लोसपाका पुरुषोत्तमलाल झाको उम्मेदवारी दर्ता भएको छ।

विराटनगर महानगरमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका नागेश कोइराला प्रमुखमा र जनता समाजवादीका अमरेन्द्र यादवले उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । यस्तै प्रमुख प्रतिपक्षी एमालेको तर्फबाट प्रमुखमा सागर थापा र उपप्रमुखमा शिल्पा निरौला कार्कीले मनोनय गरेका छन् । 

यस पटकको स्थानीय निर्वाचनमा भरतपुर महानगरमा रेनु दाहाल, काठमाडौ महानगरमा केशब स्थापित र ललितपुर महानगरमा चिरीबाबु महर्जन दोहोरिएका छन् । अन्य महानगरका प्रतिस्पर्धा सबै नयाँ अनुहारहरु हुन् ।

Leave A Reply

Your email address will not be published.