स्थानीय निर्वाचन : आज र भोलि उम्मेद्वारी दर्ता

0

काठमाडौं : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबारबाट उम्मेद्वारी दर्ता शुरु भएको छ । 

उम्मेद्वारी प्रत्येक स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्न सकिनेछ । 

आयोगले वैशाख ११ गते विहान १० बजेदेखि ५ बजेसम्म र सोमबार १२ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ । 

विगतको स्थानीय तहको निर्वाचनमा उम्मेद्वारको मनोनयन दर्ताको कार्यक्रम एक दिन रहेको भएपनि एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेद्वार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतलाई कार्य चाप धान्न कठिन भएको देखिएकाले यस पटक दुई दिन समय निर्धारण गरेको आयोगको भनाइ छ । 

मनोनयन दर्तालाई व्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तथा सम्बद्ध सबैमा अपिल गरेको छ । 

१३ गते उम्मेद्वारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयन पत्र र उजुरी जाँचबुझ गरी १६ गते अन्तिम नामावली प्रकाशन हुनेछ । १७ गते आयोगले उम्मेद्वारलाई चुनाव चिह्न दिने तालिका छ । 

स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेद्वारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति जुनसुकै पदमा उम्मेद्वार हुन पाउने व्यवस्था छ । 

उम्मेद्वार हुन नेपाली नागरिक हुनुपर्छ र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ । 

सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएको व्यक्तिहरू उम्मेद्वार हुन पाउँदैनन् ।

Leave A Reply

Your email address will not be published.