स्थानीय चुनाव : गठबन्धनलाई उम्मेद्वार टुंग्याउनै सकस

0

काठमाडौं : स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उम्मेद्वारी टुंग्याउन सत्ता साझेदार दलहरुको व्यस्तता बढेको छ । उम्मेद्वार छनोटबारे छलफल गर्न सत्ता गठबन्धनमा आवद्ध दलहरु सोमबार पनि छलफलमा जुटेका छन् । 

सोमबार बेलुकीसम्म ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट टुंगो लगाउने गठबन्धनका नेताहरुले दाबी गरेका छन् । तर गठबन्धनका पाँचवटै दलले आआफ्ना अडान र दाबी छोडेका छैनन् । 

सत्ता गठबन्धनमा सहभागी दलहरुले महानगर र उपमहानगरपालिकामा आ–आफ्नो दाबी गरेका छन् । नेपाली कांग्रेसले काठमाडौं, ललितपुर, विराटनगर महानगरपालिकाको प्रमुखमा दाबी गरेको छ । यस्तै, माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकामा दाबी गरेको छ । 

११ उपमहानगरपालिकामध्ये कांग्रेसले बुटवल, जनकपुर, तुलसीपुर, कलैया, घोराही, धनगढी, हेटौँडा लगायतमा दाबी गरेको छ । माओवादी केन्द्रले घोराही, जितपुर सिमरा, हेटौडा र धरान उपमहानगरपालिकामा दाबी गरेको छ । एकीकृत समाजवादीले तुलसीपुर, हेटौँडा र इटहरी तथा जसपाले नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै दाबी गरेको छ । 

गठबन्धनमा भएका पाँच दलमध्ये छ वटै महानगरपालिकामा कांग्रेसको मतभार धेरै छ । त्यहीकारण कांग्रेसका स्थानीय कार्यसमितिले अल्पमतको नेतृत्व स्वीकार्न नसकिने अडान लिएका छन् । 

गठबन्धनमा रहेका दलका आआफ्नै दाबी र अडानले उम्मेदवार टुङ्ग्याउन सकस भएको छ ।

Leave A Reply

Your email address will not be published.